एजेन्सी
काठमाडौं, माघ १२ गते । भारतले न्युजिल्याण्ड विरुद्धको दोस्रो टी ट्वान्टी खेल समेत जितेको छ । जितसँगै भारतले पाँच खेलको टी ट्वान्टी श्रृखंलामा २–० को अग्रता लिएको छ ।
न्युजिल्याण्डले प्रस्तुत गरेको १३३ रनको सामान्य लक्ष्य भारतले खेल सकिन १५ बल बाँकी छँदा मात्र तीन विकेटको क्षतिमा पुरा गरेको हो । भारतको जितमा लोकेश राहुलले अविजित रहँदै ५७ रनको योगदान दिनुभयो । अर्का ओपनर रोहित शर्मा आठ रनकै व्यक्तिगत् योगफलमा पेभेलियन फर्किएपछि राहुलले संयमित पारी खेलेर टोलीलाई जित दिलाउनुभयो । कप्तान विराट कोहली भने ११ रन बनाएर पेभेलियन फर्किदा भारतलाई जितका लागि १४ ओभरमा ९४ रन आवश्यक थियो । राहुलले श्रेयस ऐयरसँग तेस्रो विकेटका लागि ८६ रनको साझेदारी गरी जित नजिक पुर्याउनुभयो ।
श्रेयास ऐयर ३३ बलमा ४४ रन बनाएर पेभेलियन फर्किनुभयो । शिवम दुबे ८ रनमा अविजित रहनुभयो ।
न्युजिल्याण्डका लागि टीम साऊदीले दुई तथा ईश सोढीले एक विकेट लिनुभयो ।
यसअघि अकल्याण्डमा टस जितेर पहिला ब्याटिङ्ग गर्ने निर्णयमा पुगेको न्युजिल्याण्डले पुरा २० ओभर खेलेपनि पाँच विकेटको क्षतिमा १३२ रनको सामान्य योगफल मात्रै तयार गर्न सक्यो । न्युजिल्याण्डका लागि टिम सैफर्टले ३३ तथा कोलिन मुन्रोले २६ तथा मार्टिन गुप्टीलले ३३ रनको योगदान दिनुभयो ।
न्युजिल्याण्डलाई सामान्य योगफलमा सीमित गर्न रबिन्दर जडेजाले सर्वाधिक दुई तथा श्रद्धुल ठाकुर, जसप्रित बुमराह र शिवम दुबेले एक एक विकेट लिए ।
लोकेश राहुल खेलको म्यान अफ द् म्याच घोषित हुनुभयो ।