गोरखापत्र अनलाइन
काठमाडौं, माघ १७ गते । भारत र न्युजिल्याण्डबीचको चौथो टी ट्वान्टी खेल पनि सुपर ओभरबाटै टुंग्याइएको छ ।
सुपर ओभरमा न्युजिल्याण्डले प्रस्तुत गरेको १४ रनको लक्ष्य भारतले सहजै पुरा गर्यो । भारतका लागि विराट कोहली र लोकेश राहुल ब्याटिङ्गका लागि आए । राहुलले पहिलो दुई बलमा छक्का र चौका लगाएर टिम साउदीको तेस्रो बलमा पेभेलियन फर्किदा भारतलाई जितका लागि तीन बलमा चार रन आवश्यक थियो । विराट कोहलीले चौथो बलमा दुई रन लिनुभयो । पाँचौं बलमा चौका प्रहार गर्दै लगातार चौथो टी ट्वान्टीमा भारतको जित सुनिश्चित भयो ।
न्युजिल्याण्डले भने सुपर ओभरमा १३ रन जोडेको थियो । जसप्रित बुमराहको पहिलो तीन बलमा टिम सेफर्टले आठ रन जोडेर चौथो बलमा पेभेलियन फर्किनुभयो । पाँचौं बलमा कोलिन मुन्रोले चौका लगाउँदा अन्तिम बलमा एक रन लिएर सुपर ओभरमा जितका लागि न्युजिल्याण्डले भारत समक्ष १४ रनको लक्ष्य दियो ।
न्युजिल्याण्डललाई खेल जित्न छ बलमा सात रन आवश्यक थियो । तर भारतीय बलर श्रद्धुल ठाकुरको अन्तिम ओभरमा चार विकेट र छ रन मात्रै जोड्न सकेपछि न्युजिल्याण्ड सुपर ओभर खेल्न बाध्य भयो । रोस टेलर २४ रनमा ब्याटिङ्ग गर्दा श्रद्धुल ठाकुरको पहिलो बलमै श्रेयास ऐयरलाई क्याच थमाउनुभयो । पाँच बलमा सात रन आवश्यक छदा टिम सेफर्टले चौका प्रहार गर्दा चार बलमा तीन रन मात्रै आवश्यक रहन गयो । अर्को बलमा सेफर्ट पनि पेभेलियन फर्किनुभयो । चौथो बलमा मिसेल शान्टनरले एक रन लिनुभयो । स्ट्राइकमा आउनुभएका डेरिल मिसेल पनि आउट भएपछि न्युजिल्याण्डको ड्रेसिङ्ग रुममा नैराश्यता उत्पन्न भयो । अन्तिम बलमा मिसेल शान्टनर पनि पेभेलियन फर्किएपछि न्युजिल्याण्डले २० ओभरमा छ विकेटको क्षतिमा १६५ रन जोड्यो र खेल सुपर ओभरका लागि गयो । यसअघि तेस्रो टी ट्वान्टी खेल पनि सुपर ओभरमा गएको थियो । जसमा भारतीय ब्याट्सम्यान रोहित शर्माले अन्तिम दुई बलमा दुई छक्का लगाएर भारतलाई श्रृखंला दिलाउनुभयो ।
यसअघि वेलिंगटनमा भारतले मनिष पाण्डेको अद्र्धशतकीय पारीमा आठ विकेटको क्षतिमा १६५ रनको योगफल तयार गरेको थियो । रोहित शर्मा र अलराउण्डर रबिन्दर जडेजा बिना नै मैदानमा उत्रेको भारतले कमजोर सुरुवात गरेपछि चुनौतीयोग्य लक्ष्य प्रस्तुत गरेको थियो ।
न्युजिल्याण्ड भने उत्कृष्ट सुरुवातका बावजूद मध्यक्रम धरमराउन पुग्दा दबाबमा आएर चौथो टी ट्वान्टी खेल पनि गुमाउन पुग्यो ।