एजेन्सी
काठमाडौं, माघ १८ गते । पाकिस्तानले अफस्पिनर बिलाल असिफलाई टेष्ट टोलीमा पुनः फित्र्ता बोलाएको छ । तिब्र गतिका बलर फहीम अशरफ पनि बङ्गलादेश विरुद्धको टेष्ट श्रृखंलाको लागि पाकिस्तानी टोलीमा स्थान बनाउनुभएको छ ।
पाकिस्तान क्रिकेट बोर्डले बङ्गलादेश विरुद्धको टेष्ट श्रृखंलाका लागि टोलीको घोषणा गर्दा अष्ट्रेलिया विरुद्धको श्रृखंलामा टोलीमा स्थान बनाउन नसकेका बिलाल र फहीम अशरफ टोलीमा अटाएका छन् । दुबैजना काशिफ भटी र उसमान शिनवारीको स्थानमा टोलीमा समावेश गरिएका हुन् ।
क्रिकेट टोलीका प्रशिक्षकसँगै चयनकत्र्ताको भूमिकामा रहनुभएका मिसबाह उल हकले श्रीलङ्का विरुद्धको टेष्ट खेल जितेसँगै पाकिस्तान उत्कृष्ट लयमा रहेकोले बढी फेरबदल नगरी दुई खेलाडी मात्रै परिवर्तन गरिएको बताउनुभयो । बिलाल असिफ बलिङ्गसँगै सात नम्बरमा ब्याटिङ्ग गर्न सक्ने पाकिस्तान क्रिकेटले अपेक्षा राखेको छ ।
बङ्गलादेश विरुद्धको पहिलो टेष्ट खेल फेब्रुअरी ११ देखि सुरु हुनेछ । पहिलो टेष्ट सम्पन्न भएपछि बङ्गलादेश घर फर्किनेछन् । अप्रिल महिनामा कराँचीमा पुनः एकदिवसीयसँगै दोस्रो टेष्ट म्याच खेल्नेछन् ।
अजहर अलीको कप्तानीमा घोषित टोलीका सदस्यहरुमा आबिद अली, इमाम ऊल हक, शान मसूद, बाबर आजम, अशद शफिक, हरिश सोहैल, फवाद आलम, मोहम्मद रिजवान, यासिर शाह, इमरान खान, मोहम्मद अब्बास, शाहिन अफ्रिदी र नसीम शाह रहेका छन् ।