एजेन्सी
काठमाडौं, माघ १९ गते । साउथम्पटनमाथि फराकिलो अन्तरको जितसँगै लिभरपुल इंग्लीश प्रिमियर लिगको उपाधितर्फ अग्रसर भएको छ । दोस्रो स्थानको म्यान्चेष्टर यूनाइटेडभन्दा लिभरपुल स्पष्ट २२ अङ्कको अग्रता लिएको छ ।
घरेलु मैदान एनफिल्डमा लिभरपुलले साउथम्पटनमाथि ४–० को जित हात पार्यो । साउथम्पटन घर बाहिरको पाँचौं खेलमा पहिलो हार बेहोर्न बाध्य भयो । साउथम्पटन ११ औं स्थानमा झरेको छ । लिभरपुलले घरेलु मैदानमा लगातार २० पटक प्रिमियर लिगमा जित हात पार्ने म्यान्चेष्टर यूनाइटेडको कीर्तिमानको बराबरी गरेको छ । यसअघि लिभरपुलको सबैभन्दा बढी खेल जित्ने श्रृखंलाको कीर्तिमान सन् १९७२ मा बिल शेन्क्लीको व्यवस्थापनमा रहेको छ ।
साउथम्पटनमाथिको जितमा लिभरपुलले चारवटै गोल दोस्रो हाफमा गर्यो । ४७ औं मिनेटमा एलेक्स ओक्सलैड च्याम्बरलैनले कर्नरमा पाउनुभएको पासलाई गोलमा परिणत गर्दै १–० को अग्रता दिलाउनुभयो । कप्तान जोर्डन हेन्डरसनले रोबर्टो फिरमिनोको पासलाई गोलको दिशा दिनुहुँदै लिभरपुललाई २–० को अग्रतामा पुर्याउनुभयो । मोहम्मद सलहले खेलको ७१ औं र ९० औं मिनेट थप दुई गोल गर्नुहुँदै साउथम्पटनमाथि फराकिलो अन्तरको जित सुनिश्चित गर्नुभयो ।
पछिल्लो दुई ऋतुमा लिभरपुल ४२ खेलमा अपराजित रहेको छ । पछिल्लो दश खेलमा लिभरपुलले एक मात्र गोल खाएको हो भने प्रिमियर लिगको २५ खेलबाट ७३ अङ्क बटुलेको छ । ३० वर्षमा लिभरपुल पहिलोपटक लिगको उपाधि जित्ने लगभग तय भइसकेको छ । उसले १३ खेलमध्ये सातमा जित हात पारे उपाधि उचाल्न सफल हुनेछन् ।
लिभरपुलले १३ मध्ये सात खेलमा जित हात पारे तीस वर्षमा पहिलो पटक उपाधि उचाल्न सफल हुनेछ । यद्दपी उपाधि उचाल्ने भन्दा लिभरपुलको अपराजित यात्रा सिजनमा टुंगिने वा जारी रहनेमा चासो केन्द्रित भएको छ ।