गोरखापत्र अनलाइन
काठमाडौं, माघ १९ गते । सहिद स्मारक ए डिभिजन लिगमा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबलाई हराएको छ । नेपाल पुलिस क्लबमाथि जितसँगै त्रिभुवन आर्मी लिग तालिकाको शिर्ष स्थानमा उक्लेको छ ।
आर्मीले दश खेलबाट २३ अङ्क बटुलेको छ । त्यत्तिकै खेलबाट मच्छिन्द्र युथ क्लबले भने २२ अङ्क बटुल्दै दोस्रो स्थानमा झरेको छ । लिगमा आर्मीको यो आठौं जित हो । पुलिस भने दश खेलबाट १४ अङ्कसहित सातौं स्थानमा झरेको छ । संकटाले आइतबार नै सम्पन्न पहिलो खेलमा हिमालयनलाई हराउँदा ऊ छैठौं स्थानमा उक्लेको हो ।
दशरथ रङ्गशालामा आइतबार सम्पन्न दोस्रो खेलमा त्रिभुवन आर्मीले नेपाल पुलिसमाथि ४–२ को जित हात पार्यो । पुलिसले दुई पटक खेलमा अग्रता बनाएपनि उक्त अग्रतालाई कायम राख्न नसक्दा ऊ हार बेहोर्न बाध्य भयो । खेलको २० औं मिनेटमा पुलिसका लागि निरकुमार राईको फ्रिकिकमा बुद्ध तामाङ्को प्रहारले गोलको दिशा लिगएपछि ऊ १–० को अग्रता लियो ।
आर्मीका सुमन अर्यालले पुलिसको अग्रता तोड्दै ३४ औं मिनेटमा हेडमार्फत् गोल गर्नुहुँदै खेल १–१ को बराबरीमा ल्याउनुभयो । सन्तोष तामाङ्को फ्रिकिकमा उहाँले गोल गर्न सफल हुनुभयो ।
५८ औं मिनेटमा निरकुमार राईको फ्रिकिकमा मानबहादुर परियारले हेडमार्फत् गोल गर्नुहुँदै पुलिसको अग्रता २–१ पुर्याउनुभयो । ७७ औं मिनेटमा आर्मीका लागि विवेक बस्नेतको क्रसमा नवयुग श्रेष्ठले गोल गर्नुहुँदै खेल बराबरीमा ल्याउनुभयो । ८५ औं मिनेटमा नवयुगले दोस्रो गोल गर्नुहुँदै आर्मीलाई महत्वपूर्ण अग्रता दिलाउनुभयो । ८९ औं मिनेटमा आर्मीका सुदिल राईले गर्नुभएको प्रहार गोलमा परिणत भएपछि आर्मीलाई पुलिसमाथि ४–२ को जित दिलाउन पर्याप्त भयो ।