गोरखापत्र अनलाइन
काठमाडौं, माघ २० गते । नेपालले ओमान र अमेरिका सम्मिलित विश्व क्रिकेट लिग डिभिजन दुई प्रतियोगिता आगामी बुधबारदेखि खेल्दैछ । प्रतियोगिताको पूर्वसन्ध्यामा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले जारी गरेको टी ट्वान्टी वरियतामा नेपाली खेलाडीभन्दा ओमानका क्रिकेटरको स्तर सुधारिएको छ ।
आईसीसीले बलिङ्ग, ब्याटिङ्ग र अलराउण्डर गरी तीनै विधामा खेलाडीको वरियता जारी गर्दा सन्दीप लामिछाने बाहेक नेपालका प्रमुख बलरहरु भने आईसीसीको बलिङ्गतर्फको एकसय खेलाडीको सुचीमा छैनन् । लामिछाने आईसीसी वरियताको ८५ औं स्थानमा हुनुहुन्छ । लामिछानेको वरियता खस्किएको छ । सोमपाल कामी, करण केसी लगायतका बलर भने बलिङ्गतर्फको वरियतामा अटाएका छैनन् । ओमानका तीन जना बलर भने सूचीमा अटाएका छन् । ओमानका बिलाल खान २९ औं, खावर अली ४९ औं र मोहम्मद नदीम ५१ औं स्थानमा हुनुहुन्छ ।
अलराण्डरमा नेपालका तीन खेलाडी सयको सूचीमा पर्दा ओमान दुईजना क्रिकेटर शिर्ष दशभित्र परेका छन् । बलिङ्गतर्फ सन्दीप लामिछाने मात्रै सूचीमा अटाउँदा ओमानका तीनजना बलरले स्थान बनाएका छन् ।
बलिङ्ग विधाको शिर्ष दुई स्थानमा अफगानिस्तानका राशिद खान र मुजिब ऊर रहमान पर्न सफल भएका छन् । न्युजिल्याण्डका मिशेल शान्टनर तेस्रो तथा अष्ट्रेलियाका एडम जाम्पा चौथो स्थानमा हुनुहुन्छ । बलिङ्गको शिर्ष दश स्थानमा भारत, बङ्गलादेश र श्रीलङ्काका कुनै बलर छैनन् । भारतीय तिब्र गतिका बलर जसप्रित बुमराह भने एघारौं स्थानमा अटाउनुभएको छ ।
नेपाली क्रिकेटर भने अलराउण्डतर्फ स्थान बनाउन सफल भएका छन् । वरियताको शिर्ष १०० मा पारस खड्का, सोमपाल कामी र करण केसी अटाएका छन् । पारस २७ औं स्थानमा हुनुहुन्छ । अलराउण्डर तर्फ नै सोमपाल कामी ६५ औं तथा करण केसी ७५ औं स्थानमा हुनुहुन्छ ।
अलराउण्डर विधामै ओमान दुई खेलाडी भने शिर्ष दशमा पर्न सफल भएका छन् । जिशन मकशूद सातौं र खावर अली दशौं स्थानमा हुनुहुन्छ । पहिलो स्थानमा अफगानिस्तानका मोहम्मद नबी शिर्ष स्थानमा हुनुहुन्छ । अष्ट्रेलियाका ग्लैन म्याक्सवैल विश्व वरियताको दोस्रो स्थानमा हुनुहुन्छ ।
ब्याटिङ्ग विधामा भने नेपालका एकजना खेलाडी मात्रै सूचीमा अटाएका छन् । ओमानका जतिन्दर सिंहसहित तीनजना ब्याट्सम्यान एकसय ब्याट्सम्यानको सूचीमा अटाएका छन् । विश्व वरियताको ब्याट्सम्यानको सूचीमा पूर्व कप्तान पारस खडका ६२ औं स्थानमा हुनुहुन्छ । भारतीय ब्याट्सम्यान करण लोकेश राहुल ब्याटिङ्गमा सबैभन्दा बढी सुधार गरेका ब्याट्सम्यान हुन । छैठौं स्थानबाट उहाँ दोस्रो स्थानमा उक्लिनुभएको छ । पाकिस्तानका बाबर आजम पहिलो स्थानमा यथावत हुनुहुन्छ । शिर्ष दशमा भारतका राहुल, विराट कोहली र रोहित शर्मा गरी तीनजना ब्याट्सम्यान छन् । अष्ट्रेलियाका दुई खेलाडी शिर्ष दशमा अटाउँदा इंग्ल्याण्ड, न्युजिल्याण्ड, अफगानिस्तान र वेष्टइन्डिजका एक एक खेलाडी शिर्ष दशमा स्थान बनाउन सफल भएका छन् ।