एजेन्सी
काठमाडौं, माघ २१ गते । लगातार तेस्रो पटक भारतको १९ वर्ष मुनिको क्रिकेट टोली विश्वकप क्रिकेटको फाइनलमा पुगेको छ । सेमीफाइनलमा पाकिस्तानलाई दश विकेटको विशाल अन्तरले हराएर भारत पाँचौं पटक विश्वकप क्रिकेटको उपाधि नजिक पुगेको हो ।
भारतले उपाधिको लागि आइतबार न्युजिल्याण्ड र बङ्गलादेशबीचको विजेता टोलीसँगको भेट सुनिश्चित गरेको छ । पाकिस्तानले प्रस्तुत गरेको १७३ रनको सामान्य लक्ष्य भारतले मात्र ३५.२ ओभरमा बिना कुनै विकेटको क्षतिमा १७६ रन बनाएर पुरा गर्यो । भारतको जितमा ओपनर यशस्वी जयसवालले अविजित रहँदै १०५ तथा दिब्याशं सक्सेनाले अविजित ५९ रनको योगदान दिनुभयो । जयसवालले छक्का लगाउँदै शतक पुरा गर्नुका साथै भारतलाई लक्ष्यसम्म पुर्याउनुभयो । प्रतियोगितामा जयसवालको यो पहिलो शतक हो ।
टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेको पाकिस्तानले ३४ रनकै स्थितिमा दुई विकेट गुमाएर कमजोर सुरुवात गर्न पुगेको थियो । ओपनर हैदर अलीले कप्तान रोहैल नजिरसँग तेस्रो विकेटका लागि ६२ रनको साझेदारी गर्दा उसले औसत योगफल तयार गर्ने अनुमान गरिएको थियो । तर दुबैजना पेभेलियन फर्किए लगत्तै पाकिस्तानको पारी धरमराउन पुग्यो । पाकिस्तानले २६ रन जोड्दा अन्तिम छ विकेट गुमाउन पुग्यो । नाजिरले ६२ तथा हैदर ५६ रनको योगदान दिनुभयो ।
भारतका लागि सुशान्त मिश्रले मात्र २८ रन खर्चेर महत्वपूर्ण तीन विकेट लिनुभयो । कात्र्तिक त्यागि र रबि विष्णोईले सामान दुई दुई विकेट लिनुभयो । पाकिस्तानका सातजना ब्याट्सम्यानले दोहोरा योगफल समेत छुन सकेनन् ।
खेलको म्यान अफ द् म्याच जयसवाल घोषित हुनुभयो ।