logo
२०८१ मंसिर ८ शनिवार



इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको तालिका सार्वजनिक, पहिलो खेलमा नेपालले मलेसियाको सामना गर्ने

खेलकुद |


इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको तालिका सार्वजनिक, पहिलो खेलमा नेपालले मलेसियाको सामना गर्ने


गोरखापत्र अनलाइन
काठमाडौं, फागुन ५ गते । एशियाली क्रिकेट काउन्सिलले एसीसी पुरुष इस्टर्न रिजन टी ट्वान्टी क्रिकेट प्रतियोगिता २०२० को खेल तालिका सार्वजनिक गरेको छ । खेल तालिका बमोजिम चीन, म्यानमार र भुटान प्रतियोगितामा सहभागी हुने छैनन् । तीनै राष्ट्र सहभागी नहुने भएपछि समूह विभाजन गरिएको छैन् ।
घोषित खेल तालिका बमोजिम अब उक्त प्रतियोगितामा पाँच राष्ट्र मात्रै सहभागी हुनेछ । नेपाल, मलेसिया, हङकङ, थाइल्याण्ड र सिंगापुरबीच हुने प्रतियोगिता एक सातासम्म चल्नेछ । प्रतियोगिता अवधिभर कुल दश खेल हुनेछ ।
एसीसीले सार्वजनिक गरेको तालिका बमोजिम नेपालले आफ्नो पहिलो खेलमा मलेसियाको सामना गर्नेछन् । उक्त खेल शनिबार फागुन १७ का लागि निर्धारण गरिएको छ । शनिबार नै उद्घाटन खेलमा थाइल्याण्डले सिंगापुरको सामना गर्नेछ ।
भोलीपल्टै नेपालले आफ्नो अर्को खेलमा हङकङको सामना गर्नेछ । मलेसियाले थाइल्याण्डसँग खेल्नेछन् । सोमबार कुनै म्याच खेलाइने छैन् । मंगलबार मलेसियाले सिंगापुरको र हङकङले थाइल्याण्डको सामना गर्नेछ । बुधबार नेपालले आफ्नो तेस्रो खेलमा आयोजक थाइल्याण्डको सामना गर्नेछ । सिंगापुरले हङकङको सामना गर्नेछ । बिहिबार आरामा दिइएको छ । शुक्रबार आफ्नो अन्तिम खेलमा नेपालले सिंगापुरसँग खेल्नेछन् । अन्तिम खेलमा हङकङले मलेसियाको सामना गर्दा प्रतियोगिताको समापन हुनेछ ।
वेस्टर्न रिजन कप भने यसै साता ओमानमा सुरु हुँदैछ । उक्त प्रतियोगितामा बहराइन, इरान, कुवेत र माल्दिभ्स एउटा समूहमा विभाजन गरिएको छ । ओमान, कतार, सऊदी अरब र यूएई भने दोस्रो समूहमा रहेको छ ।
इस्टर्न र वेस्टर्न रिजन कपमा उत्कृष्ट हुने दुई दुई गरी चार टोलीबीच एशिया कप छनोट खेल हुनेछ । उक्त प्रतियोगिता आगामी अगष्ट महिनामा मलेसियामा हुने निर्धारण गरिएको छ । चार टोलीबीचको छनोट प्रतियोगिताको विजेता राष्ट्र सेप्टेम्बर महिनामा हुने एशिया कपका लागि योग्य हुनेछन् ।
एशिया कप टी ट्वान्टी प्रतियोगिता आगामी सेप्टेम्बर महिनामा पाकिस्तानमा हुने निर्धारण गरिएको छ । जसमा टेष्ट मान्यता प्राप्त एशियाका भारत, पाकिस्तान, श्रीलङ्का, बङ्गलादेश, अफगानिस्तान र छनोट खेलेर आएका थप एक राष्ट्र गरी छ राष्ट्र सहभागी हुनेछन् ।
इस्टर्न रिजन प्रतियोगितामा उत्कृष्ट हुने दुई टोली भने १९ वर्ष मुनिको एशिया कपको लागि समेत अवसर पाउनेछन् । पचास ओभरको उक्त प्रतियोगिता नोभेम्बर महिनामा यूएईमा हुने निर्धारण गरिएको छ । जसमा पाँच टेष्ट मान्यता प्राप्त राष्ट्रसँग दुई इस्टर्न रिजनका र एक वेष्टर्न रिजनका विजेता राष्ट्र गरी कुल आठ टोली सहभागी हुनेछन् ।
उक्त प्रतियोगिता लगत्तै इमर्जिङ् टिम्स एशिया कप प्रतियोगिता हुनेछ । डिसेम्बरमा हुने इमर्जिङ् टिम्स एशिया कपमा पाँच टेष्ट मान्यता प्राप्त राष्ट्रसँगै आईसीसी वरियतामा उत्कृष्ट रहने तीन असोशिएट राष्ट्र सहभागी हुनेछन् । इमर्जिङ टिम्स एशिया कप डिसेम्बर महिनामा बङ्गलादेशमा हुनेछ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?