गोरखापत्र अनलाइन
काठमाडौं, फागुन ६ गते । कप्तानबाट राजिनामा दिनुभएका दक्षिण अफ्रिकी ब्याट्सम्यान फाफ डु प्लेसिस अष्ट्रेलिया विरुद्धको टी ट्वान्टी श्रृखंलाका लागि टोलीमा फर्किनुभएको छ । डु प्लेसिसले सोमबार मात्रै टी ट्वान्टी अन्तर्राष्ट्रिय र टेष्ट टोलीको कप्तानबाट राजिनामा दिनुभएको थियो ।
दक्षिण अफ्रिकी क्रिकेट बोर्डले घोषणा गरेको टोलीमा एनरिक नोर्जे र कगिसो रबाडाको समेत पुनरागमन भएको छ । यसै वर्ष अष्ट्रेलियामा हुने टी ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिता खेल्ने सोच बनाउनुभएका अफ्रिकी अलराउण्डर अब्राहम डिभिलियर्स भने टोलीमा पर्नुभएको छैन् । प्रशिक्षक मार्क बाउचरले डिभिलियर्सले चाहे विश्वकप खेल्न सक्ने बताउनुभएपनि अष्ट्रेलिया विरुद्धको श्रृखंलाका लागि उहाँलाई टोलीमा स्थान दिइएको छैन् । डु प्लेसिसलाई भने इंग्ल्याण्ड विरुद्धको श्रृखंलाको लागि आराम दिदै क्विन्टन डे ककलाई कप्तानको जिम्मेवारी दिइएको थियो । डे ककले भने अब नियमित रुपमा कप्तानी गर्ने भएका छन् ।
पिट भान बिल्जन भने टोलीमा समावेश गरिएका छन् । उहाँले अष्ट्रेलियासँगको श्रृखंलामा अन्तर्राष्ट्रिय प्रतियोगितामा पहिलो खेल खेल्नुहुनेछ । इंग्ल्याण्ड विरुद्ध २–१ ले पराजित हुँदा अफ्रिकी बलिङ्ग आक्रमणबारे सबाल उठिरहँदा बलिङ्गको जिम्मेवारी पुनः डेल स्टैन, लुङ्गी एनगिडी र अन्डाइल फेलुक्वायोमाथि नै निर्भर रहनेछ ।
इंग्ल्याण्ड विरुद्धको तीनवटै टी ट्वान्टी खेलमा पहिलो विकेटका लागि राम्रो साझेदारी गर्नुभएका टेम्बा बभुमा टोलीमा अटाएपनि तेस्रो टी ट्वान्टी खेलकै क्रममा घाइते हुनुभएको छ । उहाँको अनुपस्थितिमा कप्तान क्विन्टन डे ककलाई भान बिल्जोन, भान डर दुस्सैन, जोन स्मट्स वा डु प्लेसिसले ओपनरको रुपमा साथ दिनुहुनेछ ।
टोलीका अन्य सदस्यहरुमा देवीड मिलर, ड्वायन प्रिटोरियस, तबरेज शम्सी, जोर्न फोरट्युन, एनरिक नोर्जे र हेनरिक क्लास्सेन रहनुभएको छ ।
अफ्रिकाले अष्ट्रेलिया विरुद्धको तीन म्याचको टी ट्वान्टी श्रृखंलाको पहिलो खेल जोहानसवर्गमा शुक्रबार खेल्नेछ ।