एजेन्सी
काठमाडौं, फागुन ९ गते । मलेसियाले पहिलो टी ट्वान्टी खेलमा हङकङलाई २१ रनले हराएको छ । जितसँगै मलेसियाले पाँच म्याचको टी ट्वान्टी श्रृखंलामा १–० को अग्रता लिएको छ ।
क्वालालाम्पुरमा मलेसियाले प्रस्तुत गरेको ८२ रनको लक्ष्य पछ्याउँदै हङकङ नौ ओभरमा आठ विकेटको क्षतिमा मात्र ६१ रनमा समेटियो । वर्षाले गर्दा ओभर घटाइएको खेलमा मलेसियाले तीन विकेटको क्षतिमा १६.३ ओभरमा १२३ रन बनाएको थियो । डकवर्थ लेविस नियमको आधारमा हङकङलाई नौ ओभरमा ८२ रनको लक्ष्य दिइएको थियो । ओपनर शाहिद वासिफ अविजित रहँदै २६ रनको योगदान दिनुभएपनि जितका लागि अपर्याप्त रह्यो । उसको पारीका छ जना ब्याट्सम्यान दोहोरा योगफल समेत छुन सकेनन ।
मलेसियाका लागि खिजर हयातले मात्र दुई ओभर बलिङ्ग गर्दा सर्वाधिक पाँच विकेट लिएपछि हङकङ जितभन्दा २१ रन टाढा रहन गयो ।
यसअघि टस जितेर पहिला ब्याटिङ गरेको मलेसियाले कप्तान अहमद फैजको ४० तथा विकेटकीपर ब्याट्सम्यान विरनदीप सिंहको ३२ रनको सहयोगमा तीन विकेटको क्षतिमा १२३ रनको उच्च योगफल तयार गरेको थियो । सैयद अजिज २७ रनमा अविजित रहनुभयो ।
हङकङका लागि ऐजाज खान, किञ्चित शाह र आफताब हुस्सैनले सामान एक एक विकेट लिनुभयो । मलेसिया र हङकङले नेपाल, सिंगापुरसहित पाँच राष्ट्र सम्मिलित इस्टर्न रिजन टी ट्वान्टी कप अघि पाँच म्याचको टी ट्वान्टी श्रृखंला खेल्न लागेको हो ।