अविनाश चौधरी
धनगढी, फागुन १० गते । नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिता धनगढीमा सुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा भारतको कञ्चनजङ्घा एफसीले सुखद् सुरुवात गरेको छ । शुक्रबार सम्पन्न खेलमा सिरहाको बाग्मती युवा क्लबलाई ट्राइबेकरमा ४–२ गोल अन्तरले पराजित गरेर कञ्चनजङ्घाले जित हात पारेको हो । विजयी टोली कञ्चनजङ्घा एफसीले क्वार्टरफाइनलको यात्रा तय गरेको छ ।
निर्धारित समयमा दुवै टिमले गोलरहित बराबरी खेलेपछि खेल ट्राइबेकरमा पुगेको थियो । ट्राइबेकरमा कञ्चनजङ्घाका कप्तान निवास राना, अभिषेक दार्जी, तिछिरीङ तामाङ र अभिषेक अलेले गोल गर्नुभयो ।
बाग्मतीकातर्फबाट विपन मगर र याङदोर्जे लामाले गोल गर्नुभएको थियो । भने, सनम बमजन र अनिल मगरको प्रहारलाई कञ्चनजङ्घाका गोलकिपर निगम सिंहले गोल हुनबाट विफल पार्नुभयो । उहाँ म्यान अफ द म्याच घोषित भइ पुरस्कृत हुनुभयो ।
यसअघि, दुवै टिमले फितलो प्रदर्शन गरेका थिए । पानी परेर हिलाम्य भएको मैदानमा खेलाडीहरुले चाहे अनुसार खेल प्रदर्शन गर्न सकेका थिएनन् । यद्यपि, पहिलो हाफमा कञ्चनजङ्घा एफ्सी बाग्मती माथि एकतर्फी रुपमा हावी देखिएको थियो । तर, गोल गर्न भने सकेन । पहिलो हाफमै कञ्चनजङ्घाको अरुण तामाङको गोल गर्ने प्रयास विफल भएको थियो । यसैगरी, अमिर लामाको हेडर गोल पोष्ट चुमे पनि खेलका रेफ्रीले ‘अफ साइड’ को सङ्केत गर्दा कञ्चनजङ्घाले गोल अग्रता लिन सकेन ।
खेलको दोस्रो हाफमा भने दुवै टिमले सुधारेर खेल खेलेका थिए । यद्यपि, गोल भने गर्न सकेनन् ।
यसअघि, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले गोल्डकपको उद्घाटन गर्नु भएको थियो । सो क्रममा उहाँले प्रदेश सरकार खेलकुद विकासका लागि प्रतिवद्ध रहेको बताउनुभयो । खेलले व्यक्ति, समाज, जिल्ला र देशलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने गरेको मुख्यमन्त्रीको भनाइ थियो ।
सुदूरपश्चिम–११ स्पोर्ट्स क्लबको आयोजनामा सुरु भएको खप्तड गोल्डकपको विजेताले २१ लाख एक सय र उपविजेताले १० लाख एक सय रुपियाँ पुरस्कार प्राप्त गर्नेछ । प्रतियोगिता फागुन २० गतेसम्म सञचालन हुनेछ ।