एजेन्सी
काठमाडौं, फागुन १० गते । आईसीसी विमन्स टी ट्वान्टी विश्वकपको दोस्रो खेलमा थाइल्याण्ड पराजित भएको छ । वेष्टइन्डिजले थाइल्याण्डलाई सात विकेटले हराएको छ ।
विश्वकपमा पहिलो पटक स्पर्धा गरिरहेको थाइल्याण्डले वेष्टइन्डिज समक्ष जितका लागि ७९ रनको लक्ष्य प्रस्तुत गरेको थियो । वेष्टइन्डिजले खेल सकिन २० बल बाँकी छदा मात्र तीन विकेटको क्षतिमा ८० रन बनाएर लक्ष्य पुरा गर्यो । २७ रनमै तीन विकेट लिएर सानो योगफलको लक्ष्य रक्षा गर्ने थाइल्याण्डको अपेक्षामा वेष्टइन्डिजकी कप्तान स्टिफनी टेलर र शेमनी क्याम्पबैलको साझेदारीले तुषारापात गर्नुभयो । दुबैजनाले चौथो विकेटका लागि अविजित ५३ रनको साझेदारी गर्नुभयो । कप्तान टेलरले २६ तथा क्याम्पबैलले २५ रन बनाउनुभयो ।
थाइल्याण्डका लागि सोराया लतेहले एक विकेट लिनुभयो ।
यसअघि पर्थमा टस जितेर पहिला ब्याटिङ रोजेको थाइल्याण्डको टोलीले २० ओभरमा नौ विकेटको क्षतिमा ७८ रन बनाएको थियो । थाइल्याण्डका लागि विकेटकीपर ब्याट्सविमन नन्नापत कोञ्चारोएन्कीले सर्वाधिक ३३ रन बनाउनुभयो । नरुइमल चेवैले १३ रन बनाउनुभयो । थाइल्याण्डका नौ जना ब्याट्सविमनले दोहोरा योगफल समेत छुन सकेनन ।
थाइल्याण्डलाई सस्तोमै समेट्न स्टैफ्नी टेलरले सर्वाधिक तीन तथा सिनेल हेनरी, शमिल्ला कोन्नेल, एफी फ्लेचर, अनिशा मोहम्मद र हैली म्याथ्युजले सामान एक एक विकेट बाँड्नुभयो । टेलर खेलको विमन अफ द् म्याच घोषित हुनुभयो ।