अविनाश चौधरी
धनगढी, १० फागुन । धनगढीमा जारी नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्डकपमा एपिएफले एनआरटी क्लबलाई हराएको छ ।
धनगढीस्थित क्षेत्रीय रङ्गशालामा शनिबार सम्पन्न खेलमा एपिएफले २–१ गोल अन्तरले एनआरटीलाई पराजित गरेको हो । एपिएफको जितमा दोस्रो हाफको ६१ औं मिनेटमा रमेश डङ्गाल र ६७ औं मिनेटमा बिकु तामाङले गोल गर्नुभयो । खेलमा म्यान अफ द म्याचको उपाधि डङ्गालको पोल्टामा गयो । उहाँले १० हजार रुपियाँ पुरस्कार हात पार्नुभयो ।
यसअघि, पहिलो हाफको ३९ औं मिनेटमा दर्शन गुरुङको गोलमार्फत अग्रता लिएको एनआरटीले त्यो अग्रतालाई जोगाउन सकेन । खेलको दोस्रो हाफमा एपिएफ एनआरटीमाथि हाबी देखिएको थियो । आइतबार जनजागृति युवा क्लब र मदन भण्डारी स्पोर्ट्स एकेडेमीबीच खेल हुने आयोजक सुदूरपश्चिम–११ स्पोर्ट्स क्लबले जानकारी दिएको छ ।
खेलको विजेता टोलीले नगद २१ लाख एक सय रुपियाँ र उपविजेताले १० लाख एक सय रुपियाँ पुरस्कार प्राप्त गर्नेछन् ।