एजेन्सी
काठमाडौं, फागुन ११ गते । न्युजिल्याण्ड विरुद्धको पहिलो टेष्ट खेलमा भारतमाथि हारको खतरा बढेको छ । तेस्रो दिनको खेल सकिदासम्म भारतले आफ्नो दोस्रो पारीमा १४४ रन जोड्दा चार विकेट गुमाएको छ । पहिलो पारीमा नै ऊ घरेलु टोली न्युजिल्याण्डसँग ३९ रनले पछाडि छ भने उसको छ विकेट मात्रै बाँकी रहेको छ । भारतका लागि मयन्क अग्रावलले सर्वाधिक ५८ रन बनाउनुभएको छ । अजिन्क्यै रहानले २५ तथा हनुमान बिहारीले १५ रनबाट चौथो दिनको खेल अगाडि बढाउनुहुनेछ ।
पाँच विकेटको क्षतिमा २१६ रनबाट तेस्रो दिनको खेल अगाडि बढाएको न्युजिल्याण्डले थप १३२ रन जोड्दै पहिलो पारीमा ३४८ रनको योगफल तयार गर्यो । पहिलो पारीमा घरेलु टोली न्युजिल्याण्डले १८३ रनको अग्रता लिएको छ । न्युजिल्याण्डका लागि कप्तान केन विलियम्सनले सर्वाधिक ८९ रनको योगदान दिनुभयो । ट्रेन्ट बौल्टले ३८ तथा कायल जमीन्सनले ४४ रन बनाउनुभयो ।
भारतका लागि इशान्त शर्माले पाँच तथा रबिचन्द्रन अश्विनले तीन र जसप्रित बुमराह र मोहम्मद शामीले एक एक विकेट लिनुभयो ।
यसअघि टस हारेर पहिला ब्याटिङ् गर्ने निम्ता पाएको भारतले आफ्नो पहिलो पारीमा १६५ रनमा समेटिन पुगेको थियो । अजिन्क्यै रहानले बनाउनुभएको ४६ रन नै उसको पारीको सर्वाधिक ब्यक्तिगत् योगफल रहन गयो । अन्य कुनैपनि ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्नुभएन ।
न्युजिल्याण्डका लागि कायल जमीन्सन र टीम साउदीले सामान चार चार विकेट लिनुभयो । ट्रेन्ट बौल्टले एक विकेट लिनुभयो ।