एजेन्सी
काठमाडौं, फागुन ११ गते । क्रिकेट वेष्टइन्डिजले श्रीलङ्का विरुद्धको दुई म्याचको टी ट्वान्टी श्रृखंलाका लागि १४ सदस्यीय टोलीको घोषणा गरेको छ । घोषित टोलीमा अलराउण्डर आन्द्रे रस्सेल समेत अटाउनुभएको छ । उहाँले अगष्ट २०१८ पछि पहिलोपटक टोलीमा पुनरागमन गर्नुभएको हो ।
क्रिकेट वेष्टइन्डिजका प्रमुख चयनकत्र्ता रोजर हार्परले आन्द्रे रस्सेलले हरेक विधामा योगदान पुर्याउने विश्वास व्यक्त गर्नुहुँदै उहाँको वापसी भएको उल्लेख गर्नुभयो । कार दुर्घटनामा घाइते हुनुभएका ओशन थोमस पनि टोलीमा फर्किनुभएको छ । पूर्णरुपमा निको भएकोले टोलीमा फर्किएका थोमसको उपस्थितिले तिब्र गतिको बलिङ्मा विकल्प थपिने हार्पनले जारी गर्नुभएको वक्तब्यमा जनाइएको छ ।
घाइते भएर पछिल्लो टी ट्वान्टी श्रृखंला गुमाएका शाई होप र फाबियन एलेनले पनि टोलीमा स्थानमा पाएका छन् । घाइते भएपछि टोलीबाट बाहिरिएका शिमरन हैटमरले अन्तर्राष्ट्रिय एकदिवसीयका लागि उपलब्ध हुने भन्दै फिटनेश परीक्षणमा सहभागी भएपनि टोलीमा अटाउन सक्नुभएको थिएन । उहाँले टी ट्वान्टीका लागि भने वापसी गर्नुभएको छ ।
क्यारन पोलार्डको नेतृत्वमा घोषित टोलीका अन्य सदस्यहरुमा ड्वायन ब्राभो, शेल्डन कोट्रेल, ब्राण्डन किंग, निकोलास पूरन, रबमन पावेल, लेन्डी सिमोन्स, हेडन वाल्श जुनियर र केस्रिक विलियम्स रहेका छन् ।