logo
२०८१ मंसिर ८ शनिवार



मच्छिन्द्र तेस्रो सताक्षी गोल्डकप च्याम्पियन

खेलकुद |


मच्छिन्द्र तेस्रो सताक्षी गोल्डकप च्याम्पियन



लीलाराज झापाली
बिर्तामोड, फागुन ११ गते । खेल सुरु भएको २ मिनेटमै प्रतिद्वन्द्वी थ्रीस्टारलाई गोल गर्न सफल भएपछि लिग विजेता सानमिगल मच्छिन्द्र क्लबले तेस्रो सताक्षी गोल्डकप जितेको छ । उपाधि रक्षासँगै मछिन्द्रले नगद छलाख रुपैयाँ प्राप्त गरेको छ ।
मछिन्द्रका विदेशी खेलाडी अडेलाजा सोमिडेलाई थ्रीस्टारका खेलाडी अशोक खवासले पेलान्टी एरियामा लडाएपछि म्याच रेफ्रि कविन व्यञ्जनकारले पेनान्टी प्रहारको मौका दिनुभएको थियो । मछिन्द्रका भरपर्दा खेलाडी विमल घर्तीमगरले गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाउनुभयो । थ्रीस्टारका लागि पेनान्टी एरियामा सोमिडेलाई लगाउनुनै घातक बन्यो । यही एक गोल मछिन्द्रका लागि जीतको आधार बन्नपुग्यो । सोमिडेले थ्रीस्टारका चारखेलाडीलाई छलाएर एक्लै गोलपोष्टमा लैजाने क्रममा थ्रीस्टारका डिफेन्स खवासको खराब ट्याकलको परिणाम अन्ततः थ्रीस्टारलाई हारमा बदलिदियो । प्रतियोगितामा दोस्रो बनेको थ्री स्टारले नगद तीनलाख रुपैँया प्रदान गरिएको छ ।
प्रतियोगितामा पहिलो हाफ मछिन्द्रले र दोस्रोमा थ्रीस्टारले खेलमा दवाव बनाएको थियो । खेलको ७ औं मिनेटमा मछिन्द्रका सोमिडे रनिङ वलमा गोल गर्न थोरै चुक्दा अग्रता दोब्बर बनाउन सक्नुभएन । यसैगरी, नवौँ मिनेटमा विशाल राई ‘बि’ को प्रहार थ्रिस्टारका गोल किपर पूर्ण चेम्जोङले बचाउनुभयो ।
खेलको २३ औँ मिनेटमा पेनाल्टी एरिया नजिकबाट थ्रिस्टारका लालरामको प्रहार बार छेवैबाट बाहिरियो । ३९ औँ मिनेटमा थ्रीस्टारका अशोक खवासको पासमा लालरामको हेडर बाहिरियो । ४३ औँ मिनेटमा मच्छिन्द्रका गोल किपर विशाल श्रेष्ठ, बिट भएको मौकामा खाली पोष्टमा थ्रीस्टारका खेलाडी लालरामले गरेको प्रहार मछिन्द्रका डिफेन्स देवेन्द्र तामाङले गोल लाइन नजिकबाट उत्कृष्ट क्लियर गर्दै खेल बराबरी हुनबाट जोगाउँदा पहिलो हाफ मछिन्द्रले १—० को अग्रता बनाएको थियो ।
यसैगरी खेलको ४६ औँ मिनेटमा मछिन्द्रका रेजिन सुब्बाको पासमा विमल घर्ती मगरको प्रहार आकाशियो । खेलको ५८ औं मिनेटमा थ्रीस्टारका संजोग राईको प्रहार बाहिरियो भने ६१ औँ मिनेटमा थ्रीस्टारका दिपेश घलेको प्रहार आकाशिएको थियो । ६६ औँ मिनेटमा मछिन्द्रका आन्द्रेसको हेडर रिबाउन्ड हुँदा विशाल राई ‘बि’ को प्रहार थ्रीस्टारका गोल किपर चेम्जोङले पञ्च गर्नुभयो । ७४ औँ मिनेटमा थ्रीस्टारका मिक्चेन तामाङको फ्रि किक प्रहार मच्छिन्द्रका गोलपोस्टमा लागेर फर्कियो ।
खेलको इन्जुरी टाइमा समेत थ्रीस्टारका मिक्चेन तामाङको प्रहार मछिन्द्रका विशाल राईले पन्च गरेर बचाएपछि थ्रीस्टार खेलमा फर्किन सकेन । फाइनल खेलको म्यान अफ दि म्याच मच्छिन्द्रका देवेन्द्र तामाङ हुनुभयो । उहाँले नगद दशहजार रुपैयाँ पाउनुभयो ।
त्यस्तै, प्रतियोगिताका म्यान अफ दि टुर्नामेन्ट थ्रिस्टारका कप्तान विक्रम लामा हुनुभयो । उहाँले नगद पचास हजार प्राप्त गर्नुभयो । प्रतियोगिताको हाइ स्कोरर थ्रिस्टारकै सञ्जोग राई हुनुभयो । प्रतियोगितामा दुई गोल गर्नुभएका उहाँले नगद २५ हजार रपियाँ पाउनुभयो । प्रतियोगिताको उत्कृष्ट गोल किपर विजेता टिमका विशाल श्रेष्ठ, बेस्ट डिफेन्स मच्छिन्द्रका पिटर सेगुन, बेस्ट मिडफिल्ड थ्रिस्टारका रुपेश केसी, बेस्ट फरवाड मच्छिन्द्रका रेजिन सुब्बा र बेस्ट कोच विजेता टिमका प्रवेश कटवाल हुनुभयो । उहाँहरुले जनही २० हजार रुपैयाँ पाउनुभयो । उदयमान खेलाडीका रुपमा आयोजक सतासीधाम स्पोर्टिङ क्लबका सञ्जीत राईले समेत नगद २० हजार रुपैयाँ पाउनुभयो ।
विजयी तथा उपविजयी खेलाडीलाई प्रमुखअतिथि अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पा, वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङ, आयोजक अध्यक्ष रमश लावतीलगायतले नगद, ट्रफी तथा मेडल प्रदान गर्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?