एजेन्सी
काठमाडौं, फागुन १२ गते । दक्षिण अफ्रिकाले दोस्रो टी ट्वान्टी खेलमा अष्ट्रेलियालाई १२ रनले हराएको छ । जितसँगै तीन म्याचको टी ट्वान्टी श्रृखंला १–१ को बराबरीमा पुगेको छ ।
दक्षिण अफ्रिकाले प्रस्तुत गरेको १५९ रनको लक्ष्य पछ्याउँदै अष्ट्रेलियाले छ विकेटको क्षतिमा १४६ रनमा समेटिन पुग्यो । अन्तिम दुई ओभरमा २० रन आवश्यक छदा अष्ट्रेलियाले ल्याउन सकेनन । अफ्रिकाका लागि कगिसो रबाडा र एन्रीक नोर्जेले अन्तिम दुई ओभरमा मात्र सात रन खर्चेर महत्वपूर्ण दुई विकेट लिदा अफ्रिकाले खेल जित्न सफल भयो ।
अष्ट्रेलियाका लागि ओपनर देवीड वार्नर र आष्टन एगर क्रिजमा हुँदाहुँदै उसले लक्ष्य भेटाउन सकेन । लक्ष्य पछ्याउने क्रममा देवीड वार्नर अविजित रहँदा अष्ट्रेलियाले टी ट्वान्टी क्रिकेटमा हार बेहोरेको यो पहिलो अवसर हो । उहाँले ६७ रनको योगदान दिनुभयो । २७ बलमा मात्र ३४ रन आवश्यक छदा अष्ट्रेलियाले मात्र दुई विकेट गुमाएको थियो । तर एलेक्स केरी, मिसेल मार्श, मैथ्यु वाडे र आष्टन एगरको रुपमा लगालग विकेट गुमाएको ऊ दबाबमा आएको थियो ।
दक्षिण अफ्रिकाका लागि लुङ्गी एनगिडीले सर्वाधिक तीन तथा कगिसो रबाडा, एनरिक नोर्जे र ड्वायन प्रिटोरियसले सामान एक एक विकेट लिनुभयो ।
यसअघि पोर्ट एलिजाबेथमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको दक्षिण अफ्रिकाले पुरा २० ओभर खेल्दै चार विकेटको क्षतिमा १५८ रनको योगफल तयार गरेको थियो । कप्तान क्विन्टन डे ककले सर्वाधिक ७० रनको योगदान दिनुभयो । भान डर दुस्सैनले ३७ रन बनाउनुभयो ।