एजेन्सी
काठमाडौं, फागुन १३ गते । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(आईसीसी)ले ओमानका एकजना खेलाडीमाथि सातवर्षको प्रतिबन्ध लगाएको छ । ओमानका युसूफ अल बलुशीमाथि आईसीसीले भ्रष्टाचार गर्न प्रेरित गरेको ठहरसहित सातवर्षको प्रतिबन्ध लगाएको हो ।
आईसीसीले यसअघि जनवरी २३, २०२० मा युसूफलाई निलम्बन गरेको थियो । निलम्बनपछि सोधपूछको क्रममा युसूफले आईसीसीको आरोप स्वीकार गरेपछि उहाँमाथि प्रतिबन्ध लगाएको हो । उहाँले विश्वकप टी ट्वान्टी क्रिकेट २०१९ को छनोट खेलमा टोलीका सदस्यलाई ‘म्याच फिक्स’ गर्न प्रस्ताव गर्नुभएको थियो । आईसीसीको भ्रष्टाचार विरोधी इकाईले सुनुवाइपछि उक्त निर्णयमा पुगेको वक्तब्य जारी गर्दै उल्लेख गरेको हो ।
आईसीसीको महाप्रबन्धक एलेक्स मार्शलले उहाँमाथि लगाइएको आरोप गम्भिर प्रकृति रहेको जानकारी दिनुभयो । “बलुशीले आरोप स्वीकार नगरेको अवस्थामा उक्त प्रतिबन्ध अझै लम्बिने सम्भावना थियो, तर छानबीनको क्रममा उहाँले सहयोग गरेकोले प्रतिबन्ध सातवर्षका लागि सीमित गरिएको हो ।”–उहाँले भन्नुभयो ।
बलुशीले ओमानको प्रतिनिधित्व गर्दै सन् २०११ देखि अक्टोबर २०१७ सम्म सक्रिय रुपमा क्रिकेट खेल्नुभएको थियो । उहाँले नेपालसँग पछिल्लोपटक आयरल्याण्डमा छ जुलाई, २०१५ मा टी ट्वान्टी म्याच खेल्नुभएको थियो । जुन वर्षाको कारण रद्द भएको थियो ।