गोरखापत्र अनलाइन
काठमाडौं, फागुन १४ गते । एसीसी इस्टर्न रिजन टी ट्वान्टी क्रिकेट प्रतियोगितामा सहभागी हुन नेपाली टोली बिहिबार थाइल्याण्ड प्रस्थान गर्ने भएको छ । नेपालले प्रतियोगितामा आफ्नो पहिलो खेल शनिबार खेल्नेछन् ।
नेपाल क्रिकेट संघका महासचिब अशोकनाथ प्याकुरेलले सहभागी हुन प्रस्थान गर्ने टोलीलाई आजै विदाइ गरिने जानकारी दिनुभएको छ । प्रतियोगिताको तयारी स्वरुप नेपाली क्रिकेट खेलाडीलाई करिब एक साता बन्द प्रशिक्षणमा राखिएको थियो । मंगलबार बन्द प्रशिक्षण समापन गर्दै संघले नेपालका लागि अन्तर्राष्ट्रिय स्पर्धामा ‘डेब्यु’ गर्न लाग्नुभएका किशोर महतोलाई किट प्रदान गरेको थियो । त्यसैगरी, टोलीमा पुनरागमन गर्नुभएका पवन सर्राफ र भुवन कार्कीलाई समेत किट प्रदान गरिएको छ ।
नेपाल क्रिकेट संघले फागुन २ गते इस्टर्न रिजन टी ट्वान्टी प्रतियोगिताका लागि ज्ञानेन्द्र मल्लको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा गरेको थियो । दिपेन्द्रसिंह ऐरी उपकप्तानको जिम्मेवारीमा रहनुहुनेछ ।
त्यसैगरी, टोलीका सदस्यहरुमा पारस खडका, विनोद भण्डारी, मोहम्मद आरिफ शेष, करण केसी, सन्दीप लामिछाने, अविनाश बोहरा, कुशल मल्ल, सुशन भारी, सन्दीप जोरा, पवन सर्राफ, किशोर महतो र भुवन कार्की अटाउनुभएको छ ।
नेपालले प्रतियोगिताको आफ्नो पहिलो खेलमा मलेसियाको सामना गर्नेछ । दोस्रो खेलमा आइतबार हङकङ, तेस्रो खेलमा बुधबार आयोजक थाइल्याण्डको र चौथो तथा अन्तिम खेलमा नेपालले सिंगापुरको सामना शुक्रबार गर्नेछ ।