गोरखापत्र अनलाइन
काठमाडौं, फागुन १४ गते । नेपाल र अमेरिका विरुद्ध अन्तर्राष्ट्रिय एकदिवसीय श्रृखंलामा उत्कृष्ट प्रदर्शन गरेको ओमान एशिया कप टी ट्वान्टी प्रतियोगिताको छनोटबाट बाहिरिएको छ । छनोटका लागि खेलिएको वेस्टर्न रिजन कपमा उसले औसत प्रदर्शन गरेपनि नेटरन रेटको आधारमा पछाडि पर्दा बाहिरिन पुगेको हो ।
वेस्टर्न रिजन कप टी ट्वान्टी क्रिकेट प्रतियोगितामा मंगलबार सम्पन्न खेलमा समूह ए मा बहराइनले कतारमाथि छ विकेटको जित हात पार्यो । उक्त परिणामले बहराइनलाई समूह विजेता बनायो । बहराइनले ओमानसँग हार बेहोरेको थियो । माल्दिभ्सलाई जितेको थियो । शिर्ष स्थानमा रहेको कतार दोस्रो स्थानमा झरेपनि ऊ सेमीफाइनलका लागि स्थान सुनिश्चित गर्यो ।
कतार र माल्दिभ्समाथि जित हात पारेपनि ओमान नेटरन रेटको आधारमा तेस्रो स्थानमा झर्दै प्रतियोगिताबाट मात्रै बाहिरिएन बरु उसको लागि एशिया कपको छनोट खेलमा सहभागी हुने अवसर समेत बन्द भयो । समूह ए बाट ओमान र माल्दिभ्स बाहिरिएको हो ।
समूह बी बाट भने सेमीफाइनलको लागि यूएई र कुवेतले स्थान सुनिश्चित गरेको छ । यूएईले सऊदी अरेबियामाथि जित हात पार्दै समूह बीको विजेता बनेर सेमीफाइनलको लागि स्थान सुनिश्चित गरेको छ । कुवेतले इरानलाई आठ विकेटले हराएर समूह बी बाट सेमीफाइनल पुग्ने दोस्रो राष्ट्र बन्यो । समूह बी बाट सऊदी अरेबिया र इरान एशिया कपको छनोट खेलबाट बाहिरिन पुग्यो ।
सेमीफाइनलमा बहराइनले कुवेतको र कतारले यूएईको सामना गर्नेछ । फाइनलमा उत्कृष्ट हुने दुई टोली र इस्टर्न रिजन कप क्रिकेट प्रतियोगिताका दुई उत्कृष्ट टोली गरी चार राष्ट्रबीच एशिया कपको छनोट खेल हुनेछ । छनोट खेल आगामी अगष्ट महिनामा मलेसियामा हुनेछ । उक्त चार टोलीको विजेता राष्ट्र सेप्टेम्बर महिनामा हुने एशिया कपका लागि योग्य हुनेछन् । जसमा भारत, पाकिस्तान, बङ्गलादेश, अफगानिस्तान सहभागी हुनेछ ।
इस्टर्न रिजन टी ट्वान्टी क्रिकेटमा उत्कृष्ट हुने दुई टोली र वेस्टर्न रिजनको एक गरी तीन टोलीले १९ वर्ष मुनिको एशिया कप खेल्ने अवसर समेत पाउनेछन् । पचास ओभरको उक्त प्रतियोगिता नोभेम्बर महिनामा यूएईमा हुने निर्धारण गरिएको छ ।
उक्त प्रतियोगिता लगत्तै इमर्जिङ् टिम्स एशिया कप प्रतियोगिता हुनेछ । डिसेम्बरमा हुने इमर्जिङ् टिम्स एशिया कपमा पाँच टेष्ट मान्यता प्राप्त राष्ट्रसँगै आईसीसी वरियतामा उत्कृष्ट रहने तीन असोशिएट राष्ट्र सहभागी हुनेछन् । इमर्जिङ टिम्स एशिया कप डिसेम्बर महिनामा बङ्गलादेशमा हुनेछ ।