logo
२०८१ मंसिर ८ शनिवार



थाइल्याण्ड जाने क्रिकेट टोलीको विदाइ

खेलकुद |


थाइल्याण्ड जाने क्रिकेट टोलीको विदाइ
तस्विर -सुजन गुरुङ


गोरखापत्र अनलाइन
काठमाडौं, फागुन १४ गते । थाइल्याण्डमा हुने एसीसी इस्टर्न रिजन टी ट्वान्टी क्रिकेट प्रतियोगिताका लागि नेपाली क्रिकेट टोलीलाई विदाइ गरिएको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिब रमेश सिलवालले खेलाडी तथा टोलीका व्यवस्थापकलाई विदाइ गर्नुभएको हो ।
एशियाली क्रिकेट काउन्सिल (एसीसी)को आयोजनामा थाइल्याण्डमा आगामी शनिबारदेखि इस्टर्न रिजन टी ट्वान्टी क्रिकेट प्रतियोगिता हुँदैछ । खेलाडीलाई विदाइ मन्तब्यको क्रममा सदस्य सचिब सिलवालले खेलको क्रममा खेलाञ्ची नगर्न खेलाडीलाई सुझाब दिनुभयो । उहाँले थाइल्याण्ड खेल्न गइरहेको टोली सन्तुलित रहेको बताउनुहुँदै सिनियर खेलाडीको अनुभव र नयाँ प्रतिभाको ऊर्जाको सम्मिश्रणले टोली विजेता हुनेमा आफू आशावादी रहेको बताउनुभयो ।
उहाँले नयाँ प्रतिभाको प्रदर्शनले सिनियर खेलाडीमाथि दबाब बढेको र प्रदर्शनमा सुधार नदेखिए सन्यास लिनुपर्ने कडा शब्दमा चेताबनी समेत दिनुभयो । उहाँले भन्नुभयो, “क्रिकेट विकासको लागि पूर्वाधारमा विशेष ध्यान दिइरहेका छौं, कतारले पनि रङ्गशाला बनाउने प्रस्ताव गरेको छ, क्रिकेट संघले अग्रसरता बढाउनुपर्यो ।”
नेपाल क्रिकेट संघले दुई साता अघि नै ज्ञानेन्द्र मल्लको कप्तानीमा थाइल्याण्ड जाने टोलीको घोषणा गरिसकेको छ । टोलीमा किशोर महतोले पहिलोपटक स्थान बनाउनुभएको छ । भुवन कार्की लामो समयपछि पुनरागमन गर्नुभएको छ । पवन सर्राफले पनि टोलीमा स्थान बनाउँदा अमेरिका र ओमान सम्मिलित त्रिदेशीय श्रृखंलामा उत्कृष्ट प्रदर्शन गर्नुभएका कुशल मल्लले पनि थाइल्याण्ड जाने टोलीमा स्थान बनाउनुभएको छ ।
टोलीसँगै अम्पायरको रुपमा नियुक्त हुनुभएका निर्मल गुरुङ समेत थाइल्याण्ड जानुहुनेछ । उक्त अवसरमा नेपाल क्रिकेट संघका अध्यक्ष, महासचिब तथा कोषाध्यक्ष र टोलीका प्रशिक्षक जगत टमाटाको उपस्थिति रहेको थियो ।
नेपालले थाइल्याण्डमा मलेसिया, हङकङ, थाइल्याण्ड र सिंगापुर सम्मिलित इस्टर्न रिजन टी ट्वान्टी क्रिकेट प्रतियोगिता खेल्नेछ । उक्त प्रतियोगितामा उत्कृष्ट हुने दुई टोलीले वेस्टर्न रिजनमा उत्कृष्ट गर्ने दुई टोली गरी चार टोली सम्मिलित एशिया कपको छनोट प्रतियोगिता खेल्नेछन् । छनोट प्रतियोगिताको विजेता राष्ट्रले एशियाका पाँच टेष्ट राष्ट्रसँगै एशिया कप टी ट्वान्टी क्रिकेट प्रतियोगिता खेल्नेछन ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?