एजेन्सी
काठमाडौं, फागुन १७ गते । भारत न्युजिल्याण्ड विरुद्धको दोस्रो टेष्ट म्याचको पहिलो पारीमा २४२ रनको सामान्य योगफलमा समेटिएको छ । कायल जमीन्सन एक्लैले पाँच विकेट लिएपछि भारतीय पारी सस्तोमै समेटिएको हो । प्रमुख ब्याट्सम्यान विराट कोहली, अजिन्क्यै रहाने र मयन्क अग्रवाल चल्न नसक्दा भारतीय पारी फेरी पनि धरमराएको छ ।
क्राइस्टचर्चमा टस हारेर पहिला ब्याटिङ गर्ने निम्ता पाएको भारतले पहिलो दिनको खेलमा ६३ ओभरमा मात्र २४२ रनमा समेटिन पुग्यो । जवाबमा शनिबार नै न्युजिल्याण्डले आफ्नो पहिलो पारीको सुरुवात गरेको हो ।
न्युजिल्याण्डले दिनको बाँकी ओभरको खेल अगाडि बढाउनेछ । ओपनिङ गर्नुभएका पृथ्वी शाहले संयमित पारी खेलेपनि मयन्क अग्रवाल सस्तोमै पेभेलियन फर्किदा भारतीय टोली दबाब आएको थियो । शाह अद्र्धशतकीय पारी खेलेर जमीन्सनको बलमा आउट हुनुभयो ।
चेतेश्वर पूजारा ब्याटिङ गर्न आउँदा कप्तान विराट कोहली र अजिन्क्यै रहाने दोहोरा योगफल जोडन नपाउँदै फर्किएपछि भारतीय टोली थप दबाबमा पुगेको थियो । पूजारा पनि अद्र्धशतक लगाएर जमीन्सनको बलमा विकेटपछाडि बीजे वाटलिङ्लाई क्याच थमाउन पुग्नुभयो । हनुमा बिहारीले पूजारासँग पाँचौं विकेटका लागि ८१ रनको साझेदारी गरेपनि भारतलाई उच्च योगफलसम्म पुर्याएन पर्याप्त भएन । उहाँ ५५ रन बनाएर नैल वाग्नरको बलमा आउट हुनुभयो ।
न्युजिल्याण्डका लागि कायल जमीन्सनले सर्वाधिक पाँच तथा टिम साउदी र ट्रेन्ट बौल्टले सामान दुई र नैल वाग्नरले एक विकेट लिनुभयो ।