गोरखापत्र अनलाइन
काठमाडौं, फागुन १७ गते । नेपाल एसीसी टी ट्वान्टी इस्टर्न रिजन कप क्रिकेट प्रतियोगिताको आफ्नो पहिलो खेलमा हार बेहोरेको छ । पहिलो खेलमा मलेसियाको सामना गरेको नेपालले २२ रनले हार बेहोरेको हो ।
मलेसियाले प्रस्तुत गरेको १५५ रनको लक्ष्य पछ्याउँदै नेपाल पुरा २० ओभर खेल्न नपाउँदै मात्र १९ ओभर ४ बलमा १३२ रनमा समेटिन पुग्यो । यसअघि मलेसिया विरुद्धको दुबै टी ट्वान्टी खेल जितेको नेपालले संयमित पारी खेल्न नसक्दा हार बेहोर्न पुगेको हो । १२ ओभरमा मात्र दुई विकेटको क्षतिमा ८९ रन जोडेको नेपालले थप ४३ रन जोडन आठ विकेट गुमाउन पुग्यो ।
२२ रनमै ओपनर कुशल मल्ल र पारस खडकाको विकेट गुमाएर दबाबमा आएको नेपाललाई कप्तान ज्ञानेन्द्र मल्ल र दिपेन्द्रसिंह ऐरीको ६७ रनको साझेदारीले सहज स्थितिसम्म पुर्याएको थियो । तर दुबैजना सामान ३८ रनको योगदान गरेर पेभेलियन फर्किएपछि नेपाली पारी सम्हाल्ने अन्य कुनै ब्याट्सम्यान उभिएन । पवन सर्राफले आवश्यक रन रेट पुर्याउन मात्र १४ बलमा १९ रन बनाएर हयात दुर्रानीको एलबीडब्ल्युको धरापमा पर्नुभयो ।
मलेसियालाई सहजै जित्ने लक्ष्यसहित नेपाली क्रिकेट टोली रङ्गशालामा उत्रेको थियो । तर मध्यक्रम तथा पूछारका ब्याट्सम्यान बिनोद भण्डारी सात, आरिफ शेष पाँच, करण केसी, सन्दीप लामिछाने एक र सुशन भारी डक आउट हुँदा अपेक्षामाथि तुषारापात भयो । पारस खडका, कुशल मल्लले पनि स्थिर पारी खेल्न सकेनन ।
मलेसियाका लागि शर्विन मुनिएन्डीले सर्वाधिक चार विकेट लिनुभयो । खैजर हयात दुर्रानी, सैज्रुल एजत इद्रुस र पवनदीपसिंहले सामान दुई दुई विकेट बाँड्नुभयो ।
यसअघि टस जितेर मलेसियाले नेपाल समक्ष १५५ रनको औसत लक्ष्य प्रस्तुत गरेको थियो । थाइल्याण्डमा जारी प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपालले उत्कृष्ट सुरुवात गरेपनि अन्तिम पाँच ओभरमा मात्रै ५७ रनभन्दा बढी खर्च गरेपछि मलेसियाले औसत योगफल तयार गर्न सफल भयो ।
थाइल्याण्डको टर्डथाइ क्रिकेट ग्राउन्डमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको मलेसियाले पुरा २० ओभर खेल्दै पाँच विकेटको क्षतिमा एक सय रन बनाएको हो । १५ ओभरपछि ९७ रनमा पाँच विकेट गुमाएको मलेसियाले अन्तिम पाँच ओभरमा मात्र एक विकेट गुमाएर ५७ रन जोडेको हो । मलेसियाका लागि मोहम्मद अनवर अरुद्दीनले ३१ तथा सैयद अजिज सैयद मुबारकले अविजित रहनुहुँदै मात्र ३५ बलमा अद्र्धशतकीय पारी खेल्नुभयो । अमीनुद्दीन राम्लीले २९ रनको योगदान दिनुभयो । अहमद फैज मोहम्मद नूर ३० रन बनाएर अविनाश बोहराको शिकार भए ।
नेपालका लागि सन्दीप लामिछानेले पारीको तेस्रो तथा आफ्नो पहिलो ओभरमै दुई विकेट लिएर मलेसियालाई दबाबमा राख्नुभयो । १९ औं ओभरमा अविनाश बोहराले १५ रन खर्चिनुभयो । त्यसअघि आफ्नो दोस्रो ओभरमा उहाँले दुई विकेट लिनुभएको थियो । उहाँले चार ओभरमा ३९ रन खर्चिनुभयो । सन्दीपले चार ओभरमा मात्र २२ रन खर्चेर महत्वपूर्ण तीन विकेट लिनुभयो ।
पारस खडका विकेटविहीन बन्न पुगेपनि उहाँले तीन ओभरमा मात्र सात रन खर्चिनुभयो । पवन सर्राफ दुई ओभरमा १७ रन खर्चिनुभयो । सुशन भारीले तीन ओभरमा २६ रन खर्चिदा प्रमुख बलर करण केसीले चार ओभरमा २९ रन खर्चेर एक विकेट लिनुभयो ।
नेपालले आफ्नो दोस्रो खेलमा आइतबार हङकङको सामना गर्नेछ ।