एजेन्सी
काठमाडौं, फागुन १८ गते । दक्षिण अफ्रिकाले पाकिस्तानलाई हराउँदै आईसीसी विमन्स टी ट्वान्टी विश्वकप क्रिकेटको सेमीफाइनलमा पुगेको छ । ऊ समूह बी उसले खेलेको तीन मध्ये तीनै खेलमा जित हात पार्दै सेमीफाइनलको लागि स्थान सुनिश्चित गरेको हो ।
सिड्नीमा दक्षिण अफ्रिकाले प्रस्तुत गरेको १३७ रनको लक्ष्य पछ्याउँदै पाकिस्तान २० ओभरमा पाँच विकेटको क्षतिमा मात्र ११९ रन जोडन सक्यो । अलिया रियाजले अविजित रहनुहुँदै ३९ रनको योगदान दिनुभएपनि जितबाट पाकिस्तान १७ रन पछाडि रहन गयो । अर्की ब्याट्सविमन इराम जावेदले अविजित १७ रन बनाउनुभयो ।
अफ्रिकी बलरहरुमा ननकुलुलेको लाबा, शब्नीम इस्माइल, भान निर्केकले सामान एक एक विकेट लिनुभयो ।
यसअघि टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको दक्षिण अफ्रिकाले पुरा २० ओभर खेल्दै छ विकेटको क्षतिमा १३६ रन बनायो । ६४ रनमै चार विकेट गुमाएर दबाबमा आएपछि लौरा वल्भार्टले अविजित रहनुहुँदै ३६ बलमा ५३ रन बनाएर अफ्रिकालाई औसत योगफलसम्म पुर्याउनुभयो । पाकिस्तानका लागि डायना बैगले दुई तथा अनम अमीन, ऐमन अनवर, सैयदा आरुब शाह र निदा दारले सामान एक एक विकेट लिनुभयो ।
खेलको प्लेयर अफ द् म्याच वल्भार्ट घोषित हुनुभयो । हारसँगै पाकिस्तान तीन खेलबाट मात्र दुई अङ्क जोडेर तालिकाको चौथो स्थानमा छ । पाकिस्तानको सेमीफाइनल पुग्ने सम्भावना पातलिएको छ । इंग्ल्याण्डले तीनमध्ये दुई खेलमा जितेर सेमीफाइनल पुग्ने सम्भावना जिवितै राखेको छ । वेष्टइन्डिजले दुई मध्ये एक खेलमा जित र एउटामा हार बेहोरेको छ । थाइल्याण्ड भने तीनमध्ये तीनै खेल हारेको छ ।