गोरखापत्र अनलाइन
काठमाडौं, फागुन १८ गते । थाइल्याण्डमा जारी एसीसी टी ट्वान्टी इस्टर्न रिजन कप क्रिकेट प्रतियोगितामा मलेसियाले लगातार दोस्रो खेल जितेको छ । पहिलो खेलमा नेपाललाई हराएको मलेसियाले दोस्रो खेलमा थाइल्याण्डमाथि आठ विकेटको जित हात पारेको हो ।
बैङ्ककस्थित टर्डथाइ क्रिकेट ग्राउण्डमा थाइल्याण्डले प्रस्तुत गरेको ८६ रनको लक्ष्य मलेसियाले मात्र दुई विकेटको क्षतिमा ११ ओभर पाँच बल खेल्दै ८६ रन बनाएर पुरा गर्यो । मलेसियाका लागि ओपनर विरनदीप सिंह र अनवर अरुद्दीनले पहिलो विकेटका लागि ५४ रनको साझेदारी गर्दा उसको जित सहज भयो । विरनदीप मात्र ३४ बलमा दुई चौका र तीन छक्का लगाएर ४१ रनमा अविजित रहनुभयो । अमीनुद्दीन राम्लीले अविजित १६ रन बनाउनुभयो ।
थाइल्याण्डका लागि नोप्पोन सेनामोन्त्री र विचन्थ सिंहले सामान एक एक विकेट लिनुभयो ।
यसअघि टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको थाइल्याण्डले पुरा २० ओभर खेल्दै नौ विकेटको क्षतिमा ८५ रनको योगफल तयार गर्यो । थाइल्याण्डका लागि हेन्नो जोर्डनले ३७ तथा रोबार्ट रैनाले २० रनको योगदान गर्दा अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरा योगफल समेत जोडन सकेनन । मलेसियाका लागि पवनदीप सिंह, सैज्रुल इद्रुस र खैजर हायतले सामान दुई दुई विकेट लिनुभयो । अनवर रहमान र शर्विन मुनान्दीले एक एक विकेट लिनुभयो ।
जितसँगै दुई खेलबाट चार अङ्क बटुल्दै मलेसिया शिर्ष स्थानमा उक्लेको छ । नेपालमाथि जित हात पारेको हङकङले दुई अङ्कसहित दोस्रो तथा एक खेल जितेको सिंगापुर तेस्रो स्थानमा छन् । नेपाल र थाइल्याण्ड भने दुई खेलमध्ये दुबैमा हार बेहोर्दै अङ्कविहिन बन्दै चौथो र पाँचौं स्थानमा छन् ।