गोरखापत्र अनलाइन
काठमाडौं, फागुन १८ गते । अखिल नेपाल फुटबल संघ(एन्फा)ले दुईजना विदेशी खेलाडीलाई कारबाही गरेको छ । ए डिभिजन लिगमा सहभागी भएका खेलाडी अन्य क्लबको प्रतिनिधित्व गरी क्लब फुटबल प्रतियोगिता खेलेको भन्दै एन्फाले दुबैजनामाथि जरिवाना तोकेको छ ।
एन्फाले आइतबार प्रेस विज्ञप्ती जारी गरी सरस्वती युथ क्लबका कजीम अदेगोके र ब्रिगेड बोइज क्लबका तजुद्दीन अदेकुन्ले बुसारीलाई नगद २५ हजार रुपियाँ जरिवाना तोकेको छ । दुबैजनाले गत् साता सम्पन्न राइनो गोल्ड कप र सताक्षी गोल्ड कपमा च्यासल युथ क्लब र सताशी थान क्लबको प्रतिनिधित्व गर्नुभएको थियो ।
सहिद स्मारक ए डिभिजन लिगको कुनै क्लबसँग आबद्ध भएका विदेशी खेलाडीको अनुबन्धन २०७७ जेठमा मात्रै सम्पन्न हुनेछ । एउटा क्लबले नेपाली खेलाडीलाई दुई क्लबलाई ऋणमा दिन सक्ने र विदेशी खेलाडीलाई एउटै क्लबलाई ऋण दिन सक्ने प्रावधान रहेको छ ।