एजेन्सी
काठमाडौं, फागुन १९ गते । रियल मड्रिडले स्पैनिस ला लिगामा बार्सिलोनालाई हराएको छ । बार्सिलोनामाथि जितसँगै रियल मड्रिड अङ्क तालिकाको शिर्ष स्थानमा उक्लेको छ ।
सान्टियागो बर्नबेउमा सम्पन्न खेलमा रियल मड्रिडले बार्सिलोनामाथि २–० को एकतर्फी जित हात पार्यो । रियलको जितमा ब्राजिली फरवार्ड भिनिसियस जुनियर र मारियानो डियाजले एक एक गोल गर्नुभयो । खेलको १६ औं मिनेटमा करिम बेञ्जेमाले गोल गर्न पाउनुभएको अवसर खेर फाल्नुभएको थियो । पाँच मिनेट नबित्दै बार्सिलोनाका कप्तान लियोनल मेस्सीले पाउनुभएको अवसर गोलमा परिणत गर्न नसक्दा महत्वपूर्ण खेलमा बार्सिलोनाको अग्रता लिने अवसर चुक्यो ।
दोस्रो हाफमा सुधारिएको खेल पस्केको रियल मड्रिडले ७१ औं मिनेटमा गोल गर्दै १–० को अग्रता कायम गर्यो । त्यसअघि उसले गोलका लागि गरेको दुई प्रयास विफल भएको थियो । टोनी क्रूजको पासमा भिनिसियस जुनियरले गर्नुभएको प्रहार जेरार्ड पिकेबाट उछिटिएर गोलमा परिणत भएको थियो ।
इन्ज्युरी समयमा मैदान छिरेका मारियानो डियाजले पहिलो मिनेटमै गोल गर्दा रियलले अग्रतालाई दोब्बर पार्दै बार्सिलोनालाई २–० ले हराउन सफल भयो ।
बार्सिलोनामाथि जितसँगै रियलले २६ खेलबाट ५६ अङ्क बटुलेर तालिकाको शिर्ष स्थानमा उक्लेको छ । दोस्रो स्थानको बार्सिलोनाले त्यत्तिकै खेलबाट ५५ अङ्कसहित दोस्रो स्थानमा झरेको छ । २६ खेलबाट सेभिल्लाले ४६ अङ्क तथा गेटाफेले ४५ अङ्क ल्याएर तेस्रो र चौथो स्थानमा कायम छन् ।