एजेन्सी
काठमाडौं, फागुन १९ गते । अन्तिम दुई ओभरमा २३ रन ल्याउन नसक्दा वेष्टइन्डिजले श्रीलङ्का विरुद्धको तेस्रो अन्तर्राष्ट्रिय एकदिवसीय खेलमा छ रनले हार बेहोरेको छ । अन्तिम एकदिवसीयमा जितसँगै श्रीलङ्काले तीन म्याचको श्रृखंला ३–० ले जितेको छ ।
श्रीलङ्काले प्रस्तुत गरेको ३०८ रनको लक्ष्य पछ्याउँदै वेष्टइन्डिजले उत्कृष्ट सुरुवात गर्दै पहिलो विकेटका लागि १११ रनको साझेदारी गर्यो । ओपनर साइ होपले ७२ तथा सुनिल एम्ब्रोसले ६० रनको योगदान दिनुभयो । निकोलास पूरन र क्यारन पोलार्डले वेष्टइन्डिजको बलियो स्थितिलाई थप सुदृढ बनाउनुभयो । पूरनले अद्र्धशतकीय पारी खेल्नुभयो । पोलार्डले ४९ रन बनाएर पेभेलियन फर्किनुअघि वेष्टइन्डिजले चार विकेटको क्षतिमा २५३ रन जोडेको थियो । तर त्यसपछिका ब्याट्सम्यानले पारीलाई निरन्तरता दिन नसक्दा ऊ सहज स्थितिबाट हारसम्म पुग्यो ।
श्रीलङ्काका लागि एञ्जेलो म्याथ्युजले सर्वाधिक चार तथा वनिण्डु हसरङ्गा र इसुरु उदानाले एक एक विकेट लिनुभयो ।
यसअघि पलाकेलेमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको श्रीलङ्काले पुरा ५० ओभर खेल्दै ३०७ रनमा समेटिएको थियो । उसको पारीमा कुशल मेन्डिस र धनञ्जय डी सिल्भाले अद्र्धशतकीय पारी खेल्नुभयो । वेष्टइन्डिजका लागि अल्जारी जोसेफले सर्वाधिक चार तथा जैसन होल्डरले दुई र शेल्डन कट्रेल, रोष्टन चेज र क्यारन पोलार्डले एक एक विकेट लिनुभयो ।
प्लेयर अफ द् म्याच एञ्जेलो म्याथ्युज र प्लेयर अफ द् सेरिज वनिन्डु हसरङ्गा घोषित हुनुभयो ।