एजेन्सी
काठमाडौं, फागुन १९ गते । अष्ट्रेलिया आईसीसी विमन्स टी ट्वान्टी विश्वकप क्रिकेटको सेमीफाइनलमा पुगेको छ । समूह ए बाट भारत यसअघि नै सेमीफाइनलमा स्थान सुनिश्चित गरिसकेको छ ।
सोमबार सम्पन्न लिग चरणको आफ्नो अन्तिम खेलमा अष्ट्रेलियाले न्युजिल्याण्डमाथि चार रनको जित हात पार्यो । अष्ट्रेलियाले प्रस्तुत गरेको १५६ रनको लक्ष्य पछ्याउँदै न्युजिल्याण्डले २० ओभरमा सात विकेटको क्षतिमा १५१ रन मात्रै जोडन सक्यो । भारतबाट पहिलो खेलमै हार बेहोरेको अष्ट्रेलियाले चार खेलमध्ये तीनमा जित हात पार्दै छ अङ्कसहित तालिकाको दोस्रो स्थानमा रहँदै सेमीफाइनलका लागि स्थान सुनिश्चित गरेको हो ।
समूह बी बाट दक्षिण अफ्रिका र इंग्ल्याण्डले सेमीफाइनलको लागि स्थान सुरक्षित गरेको छ । दक्षिण अफ्रिकाले लिग चरणमा अझै एउटै म्याच खेल्न बाँकी नै छ । उक्त खेलको नतिजाले सेमीफाइनलको समीकरण थप प्रष्ट्याउनेछन् । समूह ए बाट भने न्युजिल्याण्ड, श्रीलङ्का र बङ्गलादेश लिग चरणबाटै विश्वकपबाट बाहिरिएको छ । समूह बी बाट भने वेष्टइन्डिज, पाकिस्तान र थाइल्याण्ड बाहिरिने टोली बनेको छ ।