गोरखापत्र अनलाइन
काठमाडौं, फागुन २० गते । एसीसी टी ट्वान्टी इस्टर्न रिजन कप क्रिकेट प्रतियोगितामा सिंगापुरले मलेसियामाथि १२८ रनको विशाल अन्तरको जित हात पारेको छ । जितसँगै सिंगापुर अङ्कतालिकाको शिर्ष स्थानमा उक्लेको छ ।
प्रतियोगिताको छैठौं खेलमा सिंगापुरले प्रस्तुत गरेको २४० रनको लक्ष्य पछ्याउँदै मलेसिया १५.१ ओभरमा मात्र १११ रनमा समेटिन पुग्यो । १९ रनमै तीन विकेट गुमाएको मलेसियाको पारीलाई अहमद फैज मोहम्मद नूर र सैयद अजिज सैयद मुबारकले चौथो विकेटका लागि महत्वपूर्ण ४२ रनको साझेदारी गर्नुभयो । नूरले २५ तथा मुबारकले २३ रनको योगदान दिनुभयो । सिंगापुरका लागि अनन्त कृष्णाले सर्वाधिक चार विकेट लिनुभयो । अमजद महबुबले दुई तथा तिमोथी हैज देवीड, आर्यमन सुनिल उचिल र अनन्त अचरले एक एक विकेट लिनुभयो ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको सिंगापुरले पहिलो विकेट गुमाउँदा एघारौं ओभरमा ९६ रन जोडिसकेको थियो । उसले पुरा २० ओभर खेल्दै मात्र तीन विकेटको क्षतिमा २३९ रनको विशाल योगफल तयार गर्यो । सिद्धान्त सिंहले मात्र ५० बलको सामना गर्दै छ चौका र चार छक्काको सहयोगमा ७७ तथा सुरेन्द्रन चन्द्रमोहनले ४७ रनको योगदान दिनुभयो ।
तिमोथी हैज देवीडले ३२ बलमा नौ चौका र सात छक्काको सहयोग अविजित रहनुहुँदै ९२ रनको विष्फोटक पारी खेलेर सिंगापुरले विशाल योगफलसम्म पुर्याउनुभयो । मलेसियाका लागि सिराजुल इजत इद्रुस र मुहम्मद फित्री मोहम्मद शामले एक एक विकेट लिनुभयो ।
नेपाललाई हराएको मलेसियाले सिंगापुरबाट हार बेहोरेर तेस्रो स्थानमा झरेको छ । सिंगापुर र हङकङ भने दुई खेलमध्ये दुबै जितेर पहिलो र दोस्रो स्थानमा छन् । नेपाल भने दुई खेलमध्ये दुबैमा हार बेहोरेर चौथो स्थानमा रहँदा थाइल्याण्डले भने तीनमध्ये तीनै खेलमा हार बेहोरेको छ ।