एजेन्सी
काठमाडौं, फागुन २१ गते । कोरोना भाइरसको त्रासले इटालियन कप सेमीफाइनलको दोस्रो लिगमा जुभेन्ट्स र एसी मिलानबीचको खेल रोकिएको छ । उक्त खेल बुधबार ट्युरिनमा हुने निर्धारण गरिएको थियो ।
नागरिक सुरक्षा संस्थाले चौबिस घण्टाभित्र २७ जना इटालीका नागरिकको मृत्यु भएको जनाएपछि निर्धारण गरिएको जुभेन्ट्स र एसी मिलानबीचको खेल रोकिएको हो । लोम्बार्डी, भेनेटो र एमिलिया रोमाग्ना अतिरिक्त थप दुई प्रान्तमा खेलमाथि प्रतिबन्ध नै लगाइएको छ ।
जुभेन्ट्सले एक वक्तब्य जारी गरी अर्को घोषणा नहुञ्जेल सम्मका लागि खेल रोकिएको जनाएको छ । क्रिष्टियानो रोनाल्डोको गोलमा पहिलो लिगमा जुभेन्ट्सले १–१ को बराबरी खेलेपछि दुई टोली एलियान्ज अरेनामा भिड्ने तय गरिएको थियो ।
बिहिबार नपोलीले कोपा इटालीया खेलमा इन्टर मिलानलाई खेलाउने तय गरिएको छ । इटाली सेरी ए को चारवटा खेलमात्रै साताको अन्त्यमा सम्भव भएको थियो । स्वीटजरल्याण्डले मार्च २३ सम्म इटालीको जम्मै विमानहरु रोकिसकेको छ ।