एजेन्सी
काठमाडौं, फागुन २४ गते । बङ्गलादेशले जिम्बाबवेलाई तेस्रो अन्तर्राष्ट्रिय एकदिवसीय खेलमा १२३ रनले हराएको छ । उसको जितमा ओपनरद्वय तामीम इकवाल र लिटन दासले २९२ रनको कीर्तिमान साझेदारी गर्नुभयो । उसले तीन म्याचको एकदिवसीय श्रृखंला ३–० ले जितेको छ ।
बङ्गलादेशले प्रस्तुत गरेको ३२३ रनको लक्ष्य पछ्याउँदै जिम्बाबवेले ३७.३ ओभरमा २१८ रनमा समेटियो । उसको पारीमा सिकन्दर राजाले बनाउनुभएको ६१ तथा वेश्ली मधेभेरेले ४२ रनको योगदान दिनुभयो । अन्य कुनै ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सक्नुभएन ।
बङ्गलादेशका लागि मोहम्मद सैफुद्दीनले सर्वाधिक चार तथा तैजुल इश्लामले दुई एवम् मशरफे मर्तजा, मुश्तफिजुर रहमान र अफिफ होस्सैनले सामान एक एक विकेट लिनुभयो ।
यसअघि सिल्हटमा टस हारेर पहिला ब्याटिङ् गर्ने निम्ता पाएको घरेलु टोलीले निर्धारित ४३ ओभरमा मात्र तीन विकेटको क्षतिमा ३२२ रनको विशाल योगफल तयार गर्यो । ओपनरद्वय तामीम इकबाल र विकेटकीपर लिटन दासले पहिलो विकेटका लागि कीर्तिमान २९२ रनको साझेदारी गर्नुभयो । बङ्गलादेशका लागि यो अहिलेसम्मकै उच्च ओपनिङ साझेदारी हो ।
इकबाल १२८ रन बनाएर अविजित रहनुभयो । लिटन दासले १४३ बलमा १६ चौका र आठ छक्काको सहयोगमा १७६ रन बनाएर पेभेलियन फर्किनुभयो । बङ्गलादेशका लागि अन्तर्राष्ट्रिय एकदिवसीय खेलमा यो अहिलेसम्मकै सबैभन्दा ठूलो व्यक्तिगत् योगफल हो ।
मशरफे बिन मर्तजाले कप्तानको रुपमा अन्तिम एकदिवसीय खेलिरहँदा दासले आफ्नो पारी मर्तजाका लागि समर्पित भएको बताउनुभयो । तामीम इकबाल र लिटन दास संयुक्त रुपमा प्लेयर अफ द् सेरिज घोषित हुनुभयो ।