एजेन्सी
काठमाडौं, फागुन २४ गते । कोरोना भाइरसको संक्रमणले विश्वभरि नै खेलकुदको गतिविधि नराम्ररी प्रभावित भइरहँदा दक्षिण अफ्रिकाले आगामी साताको लागि निर्धारित भारत भ्रमण निरन्तरता दिने जनाएको छ । दक्षिण अफ्रिकी क्रिकेट बोर्डले भ्रमणमा कुनै प्रकारको बदलाब नहुने प्रष्ट्याएको छ ।
भारतीय क्रिकेट कन्ट्रोल बोर्ड(बीसीसीआई)ले साबधानीका उपायहरु अपनाइएको विश्वास दिलाएपछि अफ्रिकाले भ्रमणमा कुनै फेरबदल नहुने प्रष्ट्याएको छ । दक्षिण अफ्रिकाले शनिबार अष्ट्रेलियासँग तेस्रो अन्तर्राष्ट्रिय एकदिवसीय खेल्दैछ । दक्षिण अफ्रिका आइतबार बिहान भारतको दिल्लीका लागि प्रस्थान गर्नेछ । अफ्रिकी टोलीमा प्रमुख मेडिकल अधिकृत डा. शुएब माञ्ज्रा समेत भारत भ्रमणमा सहभागी हुनुहुनेछ ।
दक्षिण अफ्रिकाले भारतमा आगामी बिहिबार पहिलो अन्तर्राष्ट्रिय एकदिवसीय म्याच खेल्नेछ । जुन धर्मशालामा खेलाइनेछ । दोस्रो खेल लखनऊमा र तेस्रो कलकत्ताका लागि निर्धारण गरिएको छ ।
भारतमा हालसम्म ३० जना कोरोना संक्रमित फेला परेको पुष्टि भएको छ । यद्दपी भारतले इन्डियन प्रिमियर लिगको लागि पनि आवश्यक साबधानी अपनाएर खेल जारी राख्ने जनाएको छ ।