गोरखापत्र अनलाइन
काठमाडौं, फागुन २४ गते । थाइल्याण्डमा एसीसी इस्टर्न रिजन टी ट्वान्टी क्रिकेट प्रतियोगिता खेल्न गएको नेपाली टोली शनिबार स्वदेश फर्किएको छ । थाइल्याण्डमा एक सातासम्म चलेको प्रतियोगिता शुक्रबार सम्पन्न भएको थियो ।
नेपाल क्रिकेट संघले प्रतियोगितामा सहभागी खेलाडीसहित टोली शनिबार अपरान्ह स्वदेश फर्किएको जनाएको छ । थाइल्याण्ड भ्रमणका लागि १७ सदस्यीय टोली दश दिन अघि प्रस्थान गरेको थियो । नेपालले प्रतियोगितामा कुल चार म्याच खेलेको थियो । जसमध्ये दुईवटामा हार, एउटामा जित र सिंगापुर विरुद्धको अन्तिम खेल वर्षाले रद्द भएको थियो ।
उपाधि जित्ने लक्ष्यसहित थाइल्याण्ड पुगेको नेपाली टोली भने पाँच राष्ट्र सम्मिलित प्रतियोगितामा पुछारबाट दोस्रो स्थानमा रहन गयो । चार खेलमध्ये तीनमा जित हात पारेको सिंगापुर प्रतियोगिताको विजेता राष्ट्र भयो । हङकङले भने मलेसियालाई अन्तिम खेलमा हराएर उपविजेता बन्दै यूएइ र कुवेत सम्मिलित एशिया कपको छनोट प्रतियोगिताका लागि योग्य भएको छ ।