एजेन्सी
काठमाडौं, फागुन २५ गते । शनिबार विश्व क्रिकेटका महान हस्ती सचिन तेन्दुलकर र ब्रायन लाराको नेतृत्वमा टी ट्वान्टी खेल सम्पन्न भएको छ । सचिन तेन्दुलकर करिब छ वर्षपछि पहिलो पटक ब्याट समातेर ब्याटिङ गर्नुभयो । ब्रायन लाराले करिब तेह्र वर्षपछि खेलाडीको रुपमा क्रिकेट मैदानमा उत्रिनुभएको हो । र दुबै टोली विश्व क्रिकेटमा करिब एक दशकअघिसम्म वर्चश्व बनाएका बलर र ब्याट्सम्यानले भरिभराउ थियो । जसमा वेष्टइन्डिजका ब्रायन लारा, रिकार्डो पावेल, रिड्ली ज्याकब्स, डारेन गंगा, शिवनारायण चन्द्रपौल, कार्ल हुपर, सुलेमान बेन्न, पेड्रो कोलिन्स हुनुहुन्थ्यो । भारतबाट तेन्दुलकरसँगै विरेन्द्र सहवाग, मोहम्मद कैफ, युवराज सिंह, इरफान पठान, जहीर खान र मुन्नाफ पटेल सहभागी हुनुहुन्थ्यो ।
भारतको मुम्बईमा सडक सुरक्षा सम्बन्धी एक ‘च्यारिटि’ खेलमा तेन्दुलकर र लाराले अलग अलग टोलीको नेतृत्व गर्नुहुँदै टी ट्वान्टी म्याच खेल्नुभएको छ । इन्डियन लिजेन्ड टोलीको नेतृत्व तेन्दुलकरले गर्दा वेष्टइन्डिज लिजेन्डको नेतृत्व ब्रायन लाराले गर्नुभयो । तेन्दुलकरले टस जितेर लारा नेतृत्व टोलीलाई ब्याटिङका लागि निम्तो दिनुभयो । ब्रायन लारा अप्रिल १९, २००७ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गर्नुभएको थियो ।
करिब तेह्र वर्षपछि ब्याट समातेर नियमित ब्याट्सम्यान जस्तै क्रिकेट मैदानमा प्रवेश गर्नुभएको ५० वर्षीय लाराले १७ रन बनाएर पेभेलियन फर्किनुभयो । वेष्टइन्डिज क्रिकेटका दुईजना समकालीन ब्याट्सम्यान डारेन गंगा र शिवनारायण चन्द्रपौलले ४० रनको साझेदारी गर्नुभयो । गंगालाई भारतकै जहीर खानले बोल्ड गर्नुभयो । चन्द्रपौललाई मुन्नाफले पेभेलियन फर्काउनुअघि उहाँले छ चौका र दुई छक्काको सहयोगमा ६१ रन बनाउनुभयो । वेष्टइन्डिज लिजेन्डले २० ओभरमा आठ विकेटको क्षतिमा १५० रनको योगफल तयार गर्यो ।
जवाबमा भारतका लागि सचिन तेन्दुलकर र विरेन्द्र सहवाग ब्याटिङको सुरुवात गर्नुभयो । तेन्दुलकरले ३६ रन जोडेर पेभेलियन फर्किनुअघि २९ बलको सामना गर्दा सात चौका लगाउनुभयो । बाँकीको काम विरेन्द्र सहवागले पुरा गर्दै भारतीय लिजेन्डलाई जितसम्म पुर्याउनुभयो । उहाँले मात्र ५७ बलको सामना गर्दै ११ चौका लगाएर ७४ रन बनाएर अविजित रहनुभयो । मोहम्मद कैफले १४ तथा युवराज सिंह अविजित १० रन बनाउनुभयो । खेल सकिन दश बल बाँकी छदै भारतीय लिजेन्डले तीन विकेटको क्षतिमा १५१ रन बनाएर लक्ष्य पुरा गर्यो ।
वेष्टइन्डिजका लागि पूर्व कप्तान कार्ल हुपरले दुई विकेट लिनुभयो । विरेन्द्र सहवाग प्लेयर अफ द् म्याच घोषित हुनुभयो ।