एजेन्सी
काठमाडौं, फागुन २५ गते । अष्ट्रेलियाले पाँचौं पटक विमन्स टी ट्वान्टी विश्वकपको उपाधि जितेको छ । विमन्स विश्वकपको सातौं संस्करणमा अष्ट्रेलियाले भारतलाई ८५ रनले हराएर टी ट्वान्टीको च्याम्पियन भएको हो ।
अष्ट्रेलियाले प्रस्तुत गरेको १८५ रनको लक्ष्य पछ्याउँदै भारतीय विमन्स टोली १९.१ ओभरमा मात्र ९९ रनमा समेटिन पुग्यो । यसअघि लिग चरणमा भारतले अष्ट्रेलियालाई हराएको थियो । उपाधिको लागि भएको स्पर्धामा भने अष्ट्रेलियाले उत्कृष्ट वापसी गर्दै भारतलाई हराएर लगातार दोस्रो पटक विश्वकप जितेर उपाधि रक्षा समेत गर्यो । भारत भने पहिलो पटक उपाधिको होडसम्म पुगेको थियो ।
विमन्स टी ट्वान्टी विश्वकपको पहिलो संस्करणको उपाधि इंग्ल्याण्डले जितेको थियो । त्यसपछि २०१०, २०१२ र २०१४ को गरी लगातार तीन पटक अष्ट्रेलिया विश्वकप उचाल्यो । २०१६ मा वेष्टइन्डिजले विश्वकप उचालेपछि २०१८ र २०२० मा लगातार अष्ट्रेलियाले उपाधि जित्न सफल भएको हो ।
भारतका लागि दिप्ती शर्माले सर्वाधिक ३३ रनको योगदान दिनुभयो । तर उक्त प्रयास अपर्याप्त रह्यो । विशाल लक्ष्य पछ्याउने क्रममा भारतले ३० रनमै चार विकेट गुमाएर कमजोर सुरुवात गर्यो । १६ वर्षीया सफाली बर्मा प्रतियोगितामा उत्कृष्ट ब्याटिङ गर्नुभएको थियो । अष्ट्रेलिया विरुद्धको खेलमा भने उहाँ मात्र दुई रनमा पेभेलियन फर्किनुभयो । भारतीय पारीका सातजना ब्याट्सविमनले दोहोरा योगफल समेत जोड्न सकेनन ।
अष्ट्रेलियाका लागि मेगन सटले सर्वाधिक चार विकेट लिनुभयो । जेस्स जोनास्सनले तीन तथा सोफी मेलीनक्स, डेलीस्सा किमिन्स र निकोला कैरीले सामान एक एक विकेट बाँड्नुभयो ।
त्यसअघि, मेलबर्नमा टस जितेर पहिला ब्याटिङ् गर्ने निर्णय गरेको अष्ट्रेलियाले विष्फोटक सुरुवात गर्यो । अलिसा हैली र बेथ मुनिले पहिलो विकेटका लागि ११५ रनको साझेदारी गरेर अष्ट्रेलियाको विशाल योगफलको आधार तयार गर्नुभयो । मुनी ७८ रनमा अविजित रहनुभयो । विकेटकीपर ब्याट्सविमन हैलीले भने मात्र ३९ बलमा सात चौका र पाँच छक्काको सहयोगमा ७५ रन बनाउनुभयो ।
भारतका लागि दिप्ती शर्माले सर्वाधिक दुई तथा पूनम यादब र राधा यादबले सामान एक एक विकेट लिनुभयो ।
अलिसा हैली प्लेयर अफ द् म्याच तथा बेथ मुनी प्लेयर अफ द् सेरिज घोषित हुनुभयो ।