एजेन्सी
काठमाडौं, फागुन २५ गते । दक्षिण अफ्रिका विरुद्धको एकदिवसीय श्रृखंलाका लागि हार्दिक पाण्ड्या, भुवनेश्वर कुमार र शिखर धवन भारतीय टोलीमा फर्किनुभएको छ । तीनैजना घाइते भई न्युजिल्याण्ड भ्रमणमा टोलीबाट बाहिरिन पुगेका थिए ।
भारतीय क्रिकेट कन्ट्रोल बोर्ड(बीसीसीआई)ले मातहातको नवगठित खेलाडी चयन समितिले १५ सदस्यीय टोलीको घोषणा गरेको छ । घोषित टोलीमा रोहित शर्मा हुनुहुन्न। उहाँ न्युजिल्याण्ड भ्रमणको क्रममा घाइते हुनुभएको थियो ।
भारतले न्युजिल्याण्डसँग ३–० को हार बेहोर्दा टोलीमा नियमित सहभागी भएका केदार जाधब, शिवम दुबै, मयन्क अग्रवाल, श्रद्धुल ठाकुर र मोहम्मद सामी बाहिरिएका छन् । धवनको स्थानमा खेलेका अग्रवाललाई टोलीबाट बाहिर पठाइएको छ । शर्माको स्थानमा टोलीमा अटाएका पृथ्वी शाहले भने स्थान बनाउन सफल हुनुभयो । अग्रवालले श्रृखंलामा मात्र ३६ रन बनाउँदा शाहले ८४ रन बनाउनुभएको थियो । त्यसैगरी, शुभमन गिलले पनि टोलीमा स्थान बनाउनुभएको छ ।
विराट कोहलीको नेतृत्वमा घोषित टोलीका अन्य सदस्यहरुमा लोकेश राहुल, मनिष पाण्डे, श्रेयास एैयर, ऋषभ पन्त, रबिन्दर जडेजा, युज्वेन्द्र चाहल, जसप्रित बुमराह, नवदीप सैनी, कुलदीप यादब रहेका छन् ।