एजेन्सी
काठमाडौं, फागुन २५ गते । अफगानिस्तानले आयरल्याण्डलाई दोस्रो टी ट्वान्टी खेलमा २१ रनले हराएको छ । आयरल्याण्डमाथि जितसँगै अफगानिस्तानले तीन म्याचको श्रृखंला २–० ले जितेको छ ।
अफगानिस्तानले प्रस्तुत गरेको १८५ रनको लक्ष्य पछ्याउँदै आयरल्याण्ड पुरा २० ओभर खेलेपनि छ विकेटको क्षतिमा मात्र १६३ रन जोड्न सक्यो । उसको पारीमा कप्तान एन्डी बलब्रिनले सर्वाधिक ४६ रन बनाएपनि टोलीलाई जित दिलाउन सक्नुभएन । सिमी सिंह १३ तथा जर्ज डोक्रेल नौ रन बनाएर अविजित रहनुभयो ।
अफगानिस्तानका लागि मुजिब उर रहमानले सर्वाधिक तीन तथा शपूर जर्दन, गुलबद्दीन नईब र राशिद खानले सामान एक एक विकेट लिनुभयो ।
यसअघि दिल्ली स्थित ग्रेटर नोएडामा टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले २० ओभरमा चार विकेटको क्षतिमा १८४ रनको योगफल तयार गरेको थियो । उसको पारीमा कप्तान अशगर अफगानले सर्वाधिक ४९ रन बनाउनुभयो । रहमनुल्लाह गुर्बजले ३५ तथा अर्का ओपनर हज्रतुल्लाह जजैले २८ रनको योगदान दिनुभयो ।
आयरल्याण्डका लागि बोयड रन्किन, क्रैग योङ्ग र गारेथ डिलेनीले सामान एक एक विकेट लिनुभयो ।