एजेन्सी
काठमाडौं, फागुन २७ गते । बङ्गलादेशले पहिलो टी ट्वान्टी खेलमा जिम्बाबवेलाई ४८ रनले हराएको छ । जितसँगै घरेलु टोली बङ्गलादेशले दुई म्याचको टी ट्वान्टी श्रृखंलामा १–० को अग्रता लिएको छ ।
बङ्गलादेशले प्रस्तुत गरेको २०१ रनको लक्ष्य पछ्याउँदै जिम्बाबवे १९ ओभरमा १५२ रनमा समेटिन पुग्यो । जिम्बाबवेका लागि ओपनर तिनेश कमुनहुकाम्वेले सर्वाधिक २८ रनको योगदान दिनुभयो । कार्ल मुम्बाले दोस्रो सर्वाधिक २५ रन बनाएर पेभेलियन फर्किनुभयो ।
बङ्गलादेशका लागि मुस्तफिजुर रहमान र अमीनुल इश्लामले सामान तीन तीन विकेट लिनुभयो । शफिउल इश्लाम, मोहम्मद सैफुद्दीन र अफिफ होस्सैनले सामान एक एक विकेट लिनुभयो ।
यसअघि, ढाकामा टस हारेर पहिला ब्याटिङ गर्ने निम्ता पाएको घरेलु टोलीले २० ओभरमा मात्र तीन विकेटको क्षतिमा २०० रनको विशाल योगफल तयार गरेको थियो । लिटन दासले ५९ तथा सौम्य सरकारले अविजित ६२ रनको योगदान दिएपछि बङ्गलादेशले उच्च योगफल तयार गर्न सफल भयो । महमदुल्लाहले अविजित रहनुहुँदै १४ रनको योगदान गर्नुभयो ।
जिम्बाबवेका लागि सिकन्दर राजा, क्रिस मोफु र वेस्ली मधवेरेले सामान एक एक विकेट लिनुभयो । सौम्य सरकार खेलको प्लेयर अफ द् म्याच घोषित हुनुभयो ।