एकराज गिरी
पोखरा, फागुन २७ गते । नेपाल आर्मी क्लबले १८ औ आहा रारा गोल्डकपको अन्तिम चारमा स्थान पक्का गरेको छ । पोखरा रगंशालाको फुटबल मैदानमा मंगलबार भएको अन्तिम क्वारटरफाइलन खेलमा संकटा क्लब, काठमाडौलाई ३–० को फराकिलो जित निकाल्दै आर्मीले सेमीफाइनल यात्रा पक्का गर्यो ।
आर्मीको जितमा सुदिल राई, नवयुग श्रेष्ठ र बिबेक बस्नेतले एक/एक गोलको योगदान दिनुभयो । आहा रारा गोल्डकपमा १४ औ पटक सहभागी आर्मी चार पटक फाइनल पुगेपनि उपाधि जित्न सकेको छैन् भने संकटाको यो पाँचौ सहभागिता हो । संकटाले पनि आहा रारामा सेमिफाइनल भन्दा अगाडिको यात्रा तय गर्न सकेको छैन् । यो सिजनमा तेश्रो पटकको भेटमा आर्मीले बाजी मार्यो । सहिद स्मारक लिगमा १–१ को बराबरी खेलेको लिगको उपविजेता आर्मीले इलामको भ्याली गोल्डकपमा समेत २–१ जितेको थियो । माइभ्याली, राइनो कप, सतासी गोल्डकप खेलेको आर्मी आहा रारा गोल्डकप उपाधि जितेर २०७६ लाई विदाई गर्ने योजना बुनेको छ । संकटा विरुद्ध आर्मीले खेलको १५ औ मिनेटमा गोलको खाता खोलेपछि संकटाको संकट सुरु भयो । नवयुग श्रेष्ठको पासमा सुदिले फष्र्टबार च्यापेर हानेको प्रहारले सिधै जालीको सम्पर्कमा पुगेपछि आर्मीले अग्रता लियो ।पहिलो हाफ १–० ले टुङग्याएको आर्मीले दोश्रो हाफमा दुई गोल गर्न सफल भयो । दोश्रो हाफमा आक्रामक देखिएको आर्मीले ७१ औं मिनेटमा दोश्रो गोल गर्दै अग्रता दोब्बर बनायो । आर्मीका लागि सन्तोष तामाङले प्रहार गरेको कर्नर किकमा विकास तामाङले हेड गरेपछि किपरले समात्ने क्रममा रिबाउण्ड भएको बललाई पोष्टको दिशा दिदै नवयुग श्रेष्ठले अग्रता दोब्बर बनाउनुभयो ।
६८ औं मिनेटमा सुदील राईको सट्टामा मैदान प्रवेश गर्नुभएका बिबेक बस्नेतले ७५ औ मिनेटमा सेसेहाङ आङ्देम्वेको पासमा गोल गदै खेल ३–० ले टुग्याउदाँ संकटाको आहा राराको यात्रा सकियो। आर्मीको सेमिफाइनल भेट मनाङमस्र्यादीसंग पक्का भयो । लगातार आक्रमण बुनेको आर्मीले आधा दर्जन बढी गोल गर्ने अवसर खेर फाल्यो । ६२ औं मिनेटमा नवयुग श्रेष्ठको पासमा जर्ज प्रिन्स कार्की गोल गर्न असमर्थ हुनुभयो । लगत्तै ७३ औं मिनेटमा सन्तोष तामाङको प्रहारमापनि बिपक्षी गोलकिपर राजाबाबु थापा नै बाधक बन्नुभयो ।
आर्मीसामु निरिह देखिएको संकटाले पनि केहि राम्रा अवसर सृजना गरेपनि गोल गर्न सकेन् । ४१ औं मिेनटमा ड्याडी अम्बाले ओभरल्यापमा गएर गरेको प्रहार क्रसबार भन्दा केहि माथिबाट बाहिरियो । ६० औं मिनेटमा मेस्सौके पिएरेले बिपक्षी डिफेन्डरको खुट्टाबाट खोसेर गरेको प्रहार फष्र्टबार हुँदै बाहिरियो । आर्मीका प्रशिक्षक नविन न्यौपानेले लिगपछि पहिलो पटक सेट टिम मैदान उत्रदा पहिलो हाफमा तालमेल नमिलेको बताउनुभयो । उहाँले आहा रारा गोल्डकपको उपाधि जितेर २०७६ को सुखद विदाई गर्ने योजना सहित आएको बताउनुभयो । यो सिजनमा लिग सहित पाँच खेलमा उपविजेतामै रहेको बताउदै आहाको उपाधि उचाल्ने योजना छ उहाँले भन्नुभयो । यता संकटाका प्रशिक्षक सल्यान खडगीले खेलमा पाएका अवसर सदुपयोग नहुदाँ पराजित भएको बताउनुभयो । प्रतियोगिता अन्र्तगत बुधबार पहिलो सेमिफाइनल खेल नेपाल पुलिस र थ्री स्टार वीच हुने छ ।