एजेन्सी
काठमाडौं, फागुन २८ गते । केभिन ओ ब्रायनले राशिद खानको अन्तिम बलमा छक्का लगाएपछि आयरल्याण्डले अफगानिस्तान विरुद्ध पहिलो जित हात पारेको छ । निर्धारित ओभरमा दुबै टोलीले सामान रन जोडेपछि खेल सुपर ओभरमा गएको थियो । अन्तिम बलमा तीन रन ल्याउन आवश्यक छदा केभिन ओ ब्रायनले राशिदको बलमा छक्का लगाउनुहुँदै अफगानिस्तानमाथि आयरल्याण्डको पहिलो जित दिलाउन सफल हुनुभयो । आयरल्याण्डले अफगानिस्तानसँग खेलेको १३ टी ट्वान्टीमा पहिलो जित हात पार्न सफल भयो ।
सुपर ओभरमा अफगानिस्तानका रहमनुल्लाह गुर्वज र मोहम्मद नबीले क्रैग योङ्गको ओभरमा मात्र आठ रन जोड्न सफल हुनुभयो । अफगानिस्तानका लागि राशिद खानले सुपर ओभरमा बलिङ गर्ने जिम्मेवारी पाउनुभयो । पहिलो बल बिट गराउनुभएका राशिदको दोस्रो बल चौकामा परिणत भयो । चार बलमा चार रन ल्याउन आवश्यक रहँदा पौल स्टर्लिङ एलबीडब्ल्युको धरापमा पर्नुभयो । र अर्को दुई बलमा उहाँले मात्र एक रन खर्चिदा आयरल्याण्डलाई अन्तिम बलमा जितका तीन रन आवश्यक रहन गयो । केभिनले अन्तिम बललाई छक्का लगाउँदा आयरल्याण्डले अफगानिस्तानमाथि शान्त्वना जित हासिल गर्यो । यसअघिको दुई टी ट्वान्टी खेल जितेर अफगानिस्तानले तीन म्याचको श्रृखंला २–० ले हात पारिसकेको थियो ।
यसअघि राशिदले नै हार नजिक पुगेको अफगानिस्तानलाई अन्तिम ओभरमा १६ रन आवश्यक छदा १५ रन बटुलेर योगफल बराबरी गर्नुभएको थियो ।
टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको आयरल्याण्डले १२ रनमै दुई विकेट गुमाएर कमजोर सुरुवात गरेपनि २० ओभरमा आठ विकेटको क्षतिमा १४२ रनको औसत योगफल तयार गरेको थियो । उसको पारीमा गैरेथ डिलेनीले सर्वाधिक ३७ रनको योगदान दिनुभयो ।
जवाबमा उत्कृष्ट सुरुवात गर्दै १२ ओभरमा ९२ रन जोडेर मात्र तीन विकेट गुमाएको अफगानिस्तानले ४८ बलमा थप ५० रन जोडन चार विकेट गुमाउँदा पनि लक्ष्य पाउन सकेनन । र उसले २० ओभरमा सात विकेटको क्षतिमा १४२ रनमै सीमित हुन पुग्यो । उसको पारीमा रहमनुल्लाह गुर्वजले सर्वाधिक ४२ रनको योगदान दिनुभयो ।
केभिन ओ ब्रायन प्लेयर अफ द् म्याच तथा रहमनुल्लाह गुर्वज प्लेयर अफ द् सेरिज घोषित हुनुभयो ।