एजेन्सी
काठमाडौं, फागुन २८ गते । यूरोपेली फुटबल संघ(यूइएफए)ले सम्बन्धित राष्ट्रसँग यूरो २०२० फुटबल कप प्रतियोगिता सम्भव हुने/नहुने परामर्श लिन सुरु गरेको छ । कोरोना भाइरसको संक्रमण बेलायत, इटाली, जर्मनी, स्पैन लगायतका राष्ट्रमा तिब्र रुपमा फैलिरहँदा यूइएफएले उक्त परामर्श सुरु गरेको हो । यूरो कप फुटबल प्रतियोगिताको उद्घाटन खेल जुन १२ मा इटालीको रोममा हुने तय गरिएको छ ।
यूइएफएको योजना निर्माण तहमा रहेका एक उच्च अधिकारीले मङगलबार एशोसिएट प्रेससँगको कुराकानीमा प्रतियोगितामा कोभिड–१९ को बिरामी फेला परे हजारौं संक्रमितलाई आवश्यक सुविधा उपलब्ध गराउन आयोजक राष्ट्र सक्षम हुने÷नहुनेबारे जिज्ञासा राखेको बताउनुभयो । उहाँले नाम उल्लेख नगर्ने शर्तमा कुराकानी गर्न सहमत हुनुभयो । २४ राष्ट्र सम्मिलित यूरो कप फुटबल प्रतियोगिताका खेल १२ वटा रङगशालामा आयोजना हुने तय गरिएको छ । यद्दपी प्रत्येक रङगशालाका लागि एक एक विकल्प राखिएको छ ।
यूरो कप सञ्चालन गर्ने निकाय यूइएफएले प्रतियोगिता सार्ने वा रद्द गर्ने कुनै प्रस्ताव अहिलेसम्म नगरेको प्रष्ट्याएको छ । खेलको क्रममा हुनसक्ने जोखिम न्यूनिकरण कम गर्न यूइएफएले विश्व स्वास्थ्य संगठनसँग समन्वय गरिरहेको छ । एपीसँग कुराकानी गर्नुभएका अधिकारीले भन्नुभयो, “यूरो कप सुरु हुन तीन महिना समय बाँकी छ, उक्त समयसम्म कोरोनाको प्रकोप नियन्त्रणमा आइसक्ने विश्वास गरिएको छ ।”
यूरो कपको केही छनोट खेल अझै बाँकी नै छन् । स्लोभाकियाले आयरल्याण्डसँग मार्च २६ मा खेल्ने प्ले अफ दर्शकको अनुपस्थितिमा खेल्ने स्लोभाकिया सरकारले निर्देशन जारी गरेको छ । मार्च ३१ मै जर्मनीले नरेमवर्गमा इटालीसँग मैत्रीपूर्ण स्पर्धा गर्दा दर्शकको उपस्थिति रहने छैन् ।
यूरो कपका खेलहरु अजरबैजान, डेनमार्क, जर्मनी, हंगेरी, आयरल्याण्ड, नेदरल्याण्ड्स, रोमानिया, रुस, स्कटल्याण्ड र स्पैनमा खेलाइनेछ ।