गोरखापत्र अनलाइन
काठमाडौं, फागुन २९ गते । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(आईसीसी)को महिला टी ट्वान्टीको विश्व वरियतामा नेपाली महिला टोली १४ औं स्थानमा परेको छ । आईसीसीले जारी गरेको नयाँ वरियतामा अष्ट्रेलिया शिर्ष स्थानमा छन् । यसअघि १२ औं स्थानमा रहेको पुरुष टोली भने विश्व वरियतामा १५ औं स्थानमा धकेलिएको छ ।
गत् साता सम्पन्न महिला विश्वकप टी ट्वान्टी क्रिकेट प्रतियोगितापछि आईसीसीले नयाँ वरियता जारी गरेको हो । नयाँ वरियतामा इंग्ल्याण्ड दोस्रो तथा न्युजिल्याण्ड तेस्रो स्थानमा छ । विश्वकपको फाइनलसम्म पुगेको भारतीय टोली भने चौथो स्थानमा छ ।
छोटै समयमा महिला विश्वकप टी ट्वान्टी क्रिकेट प्रतियोगितासम्म पुगेको थाइल्याण्ड भने ११ औं स्थानमा छ । विश्वकप छनोटबाट बाहिरिएको आयरल्याण्ड थाइल्याण्डभन्दा माथि १० औं स्थानमा छ । नेपालभन्दा माथि स्कटल्याण्ड १३ औं र जिम्बाबवे १२ औं स्थानमा छ ।
सेमीफाइनलसम्म पुगेको दक्षिण अफ्रिका पाँचौं तथा वेष्टइन्डिज छैठौं स्थानमा छ । दक्षिण एशियाली राष्ट्रहरु पाकिस्तान, श्रीलङ्का र बङ्गलादेश भने सातौं, आठौं र नवौं स्थानमा छ ।