एजेन्सी
काठमाडौं, चैत्त १ गते । भारत र दक्षिण अफ्रिकाबीचको तीन म्याचको एकदिवसीय श्रृखंला रोकिएको छ । धर्मशालामा बिहिबारको खेल वर्षाले प्रभावित भई रद्द भएको थियो ।
भारतीय क्रिकेट कन्ट्रोल बोर्ड(बीसीसीआई)ले आइतबार र बुधबारका लागि निर्धारित दुबै एकदिवसीय खेल रोकिएको जनाएको छ । कोरोना भाइरसको संक्रमणले खेल प्रशंसक, दर्शक र खेलाडीलाई प्रभावित पार्न सक्ने जोखिमलाई लिएर दुबै खेल बन्द रङ्गशालामा हुने निर्धारण गरिएको थियो । तर बीसीसीआई र क्रिकेट साउथ अफ्रिकाले पुर्नतालिका गरी श्रृखंला पछि खेल्ने गरी टार्ने सहमति गरेको हो ।
शुक्रबार अबेर बीसीसीआईले वक्तब्य जारी गरी दक्षिण अफ्रिकी टोलीले केही समयपछि तीन म्याचको एकदिवसीय श्रृखंला खेल्न आउने उल्लेख गरेको छ । प्राविधिक रुपमा पहिलो एकदिवसीय खेल सकिएपनि बीसीसीआईको जारी गरेको वक्तब्यमा दुबै बोर्ड पुर्नतालिका गरी तीन म्याचकै श्रृखंला खेल्न सहमत भएको देखिन्छ ।
आइतबारका लागि निर्धारित दोस्रो एकदिवसीय खेल अघि शनिबार बीसीसीआईले दुबै टोलीलाई अभ्यासको लागि समय निर्धारण गरेको थियो । लगत्तै बीसीसीआईबाट आएको यस्तो निर्णयले दुबै टोलीका खेलाडी भने स्तब्ध भएका छन् ।