एजेन्सी
काठमाडौं, चैत्त ४ गते । क्रिकेट अष्ट्रेलियाले पुरुष टी ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिता निर्धारित समयमै खेलाउने तयारी गरेको छ । विश्वकप टी ट्वान्टी क्रिकेट प्रतियोगिता आगामी अक्टोबरमा अष्ट्रेलियामा खेलाइने निर्धारण गरिएको छ ।
नोभेल कोरोना भाइरसको संक्रमणले विश्व खेलकुद जगत्का अधिकांश स्पर्धाहरु पर धकेलिएको छ । जसमा अन्तर्राष्ट्रियदेखि राष्ट्रिय स्पर्धा प्रभावित भएको छ ।
क्रिकेट अष्ट्रेलियाका प्रमुख केभिन रोबर्टसले खेलकुदका सबै विधा आगामी केही साता वा महिनाभित्र सुरु हुने विश्वास गरेको बताउनुभयो । अक्टोबर र नोभेम्बरका लागि निर्धारित टी ट्वान्टी विश्वकपका खेल सुरु हुँदा अवस्था अत्यन्तै सामान्य भएको हुने रोबर्टसले बताउनुभयो ।
विश्वकप टी ट्वान्टीको प्रि क्वालिफायर खेल अक्टोबर १८ देखि २३ सम्म हुने निर्धारण गरिएको छ । अक्टोबर २४ देखि प्रमुख १२ राष्ट्र सम्मिलित विश्वकपको खेल सुरु हुनेछ ।
नोभेम्बर १५ मा उपाधिका लागि स्पर्धा हुँदा मेलबर्न क्रिकेट ग्राउण्ड पूर्णरुपमा दर्शकले भरिभराउ रहने उहाँले दाबी गर्नुभयो । कोरोना भाइरसको महामारीले दर्जनौं स्पर्धा स्थगित भइसकेको छ । यद्दपी टोक्यो ओलम्पिक, यूरो २०२० र कोपा अमेरिका कप अझै निर्धारित तिथिमै हुने जनाइएको छ ।