एजेन्सी
काठमाडौं, चैत्त ५ गते । अमेरिकी टेनिस एशोसिएशनले यूएस ओपन पछि सार्ने सम्भावनामाथि छलफल भइरहेको जनाएको छ । फ्रेञ्च ओपन यसअघि नै सेप्टेम्बरमा हुने गरी सारिएको छ ।
विश्व टेनिसको वार्षिक सत्र बमोजिम न्युयोर्कमा ३१ अगष्टबाट यूएस ओपन टेनिस प्रतियोगिता सुरु हुने निर्धारण गरिएको छ । तर फ्रेञ्च ओपन भने २४ मईदेखि ७ जुनसम्म हुने निर्धारण गरिएकोमा अब २० सेप्टेम्बरदेखि ४ अक्टोबरसम्म हुने तय गरिएको छ । पूर्व तालिकाबमोजिम यूएस ओपन सकिएको सातादिन पछि फ्रेञ्च ओपन सुरु हुनेछ । कोभिड–१९ विश्वब्यापीरुपमा महामारीको रुप लिदा एकपछि अर्को गरी खेलकुद जगतका सबै स्पर्धाहरु स्थगित गरिएको छ ।
अमेरिकी टेनिस एशोसिएशनले कोरोना विरुद्ध लड्न विश्व एकैठाउँमा जमा भइरहँदा यूएस ओपनबारेको निर्णय समेत एकपक्षीय गर्न नहुने वक्तब्यमा उल्लेख गरेको छ । उसले ग्राण्ड स्लाम प्रतियोगिता, विश्व टेनिस एशोसिएशन र एटीपीसँगको परामर्शपछि उपयुक्त निर्णय लिने प्रष्ट्याएको छ ।