गोरखापत्र अनलाइन
काठमाडौँ, असार ५ गते । रियल मड्रिडले भ्यालेन्सियालाई ३–० ले पराजित गरेको छ । स्पेनिस ला लिगाअन्तर्गत बिहीबार राति सम्पन्न खेलमा रियल मड्रिडले भ्यालेन्सियामाथि सहज जित हात पारेको हो । जितसँगै रियल मड्रिड अङ्कतालिकाको शीर्ष स्थानमा रहेको बार्सिलोनाभन्दा दुई अङ्कले पछाडि परेको छ । सामान २९ खेल्दा बार्सिलोनाले ६४ अङ्क बटुलेको छ ।
घरेलु मैदानमा सम्पन्न खेलमा रियल मड्रिडका लागि करिम बेञ्जेमाले दुई तथा मार्को एसेन्सियोले एक गोल गर्नुभयो । पहिलो हाफमा आक्रामक हुन नसकेको रियलले दोस्रो हाफमा चुस्त प्रदर्शन गर्दै तीन गोल जोड्न सफल भयो । करिम बेञ्जेमाले ६१ औँ मिनेटमा गोल गर्नुहुँदै रियललाई १–० को अग्रता दिलाउनुभयो । रियलका लागि उहाँको यो २४३ औँ गोल हो । रियलका लागि फेरेन्स पुस्कासको गोल सङ्ख्यालाई बेञ्जेमाले उछिन्नुभयो ।
७४ औँ मिनेटमा मार्कोले गोल अन्तरलाई दोब्बर पार्नुभयो । १२ मिनेटपछि बेञ्जेमाले थप एक गोल गर्दा रियलले भ्यालेन्सियालाई स्तब्ध बनाउन पुग्यो । सर्जिओ रामोसलाई पटकपटक फौल गर्दा भ्यालेन्सियाका ली काङ्गलाई ८९ औँ मिनेटमा रातो कार्ड देखाइयो ।