धनगढी, असार १७ गते ।
धनगढी उपमहानगरपालिकाले नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले आयोजना सुरु गरेको सुदूरपश्चिम खेलकुद पुरस्कारका लागि बजेट विनियोजन गरेको छ । धनगढी उपमहानगरपालिकाले अगामी आर्थिक वर्ष २०७७/७८ मा खेलकुद पुरस्कारका लागि बजेट विनियोजन गरेको हो ।
धनगढीकी उपमेयर सुशीला मिश्र भट्टले पाँचौँ नगरसभामार्फत आर्थिक वर्ष २०७७/७८ को बजेटमा खेलकुद पुरस्कारलाई बजेटको व्यवस्था मिलाइएको जानकारी दिनुभयो ।
नेपाल खेलुकद पत्रकार मञ्च कैलालीले अघिल्लो वर्षदेखि सुदूरपश्चिम स्पोर्टस अवार्डको आयोजना गर्दैआएको छ । स्पोर्ट्स् अवार्डका लागि एक लाख पचास हजार रुपियाँ छुट्ट्याइएको छ ।
धनगढी उपमहानगरपालिकाले उपमहानगरको मात्रै नभएर समग्र प्रदेशकै प्रतिनिधित्व गर्ने खेलाडीको हौसला प्रदान गर्न पुरस्कार र सम्मानको व्यवस्था गर्दैआएको मेयर नृप ओडले बताए ।
प्रदेश सरकारले गत मङ्सिरमा आयोजित १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगितामा सुदूरपश्चिम प्रदेशको प्रतिनिधित्त्व गर्ने खेलाडीलाई नगदसहित सम्मान गर्ने तयारी गरेको छ ।