गोरखापत्र अनलाइन
काठमाडौँ, भदौ ३ गते । नेपाली क्रिकेटर सन्दीप लामिछाने सहभागी टोली जमैका तल्लावाहले क्यारेबियन प्रिमियर लिगको आफ्नो पहिलो खेल आज खेल्दैछ । पहिलो खेलमा जमैकाले सेन्ट लुसिया जौक्सको सामना गर्दैछ । क्यारेबियन प्रिमियर लिगमा सन्दीपयको यो लगातार तेस्रो सहभागिता हो । सन् २०१८ को सीपीएल संस्करणमा सन्दीपले पाँच खेलमा १७ ओभर बलिङ गर्दा १०६ रन खर्चेर सात विकेट लिनुभएको थियो । गत संस्करणमा उहाँले छ खेलमा २० ओभर बलिङ गरेर आठ विकेट लिनुभएको थियो । सीपीएल खेल्न सन्दीप लामिछाने साउन तेस्रो साता वेष्टइन्डिज प्रस्थान गर्नुभएको थियो । दुई साता क्वारेन्टिनमा बिताएपछि उहाँ प्रशिक्षणमा सहभागी हुनुभयो ।
जमैकाको पहिलो खेल सेन्ट लुसियासँग नेपाली समयअनुसार साँझ सात बजेट ४५ मिनेटपछि सुरु हुनेछ ।
जमैकामा लामिछानेसँगै चारजना विदेशी खेलाडी आबद्ध छन् । वेष्टइन्डिज क्रिकेट टोलीका अनुभवी अलराउण्डर आन्द्रे रस्सैलसहितको टोलीमा ग्लैन फिलिप्स, आसिफ अली, मुजिब ऊर रहमान विदेशी खेलाडीको रुपमा आबद्ध छन् । कार्लस ब्रैथवैट, ओसन थोमस, वीरासम्मी परमौल, रबमन पावेल, सैडविक वाल्टन, प्रेस्टन मस्वीन, निकोलस किर्टोन, फिडेल एडवार्ड लगायतका खेलाडीहरू जमैकामा आबद्ध छन् ।
रस्सैल, थोमस, ब्रैथवैट, एडवार्ड वेष्टइन्डिज क्रिकेट टोलीको प्रतिनिधित्व गरेर अन्तर्राष्ट्रिय स्पर्धामा सहभागी भइसकेका अनुभवी खेलाडीहरू छन् । टोलीका प्रशिक्षक वेष्टइन्डिजका सफल ब्याट्सम्यान रामनरेश सरवन हुनुहुन्छ ।