गोरखापत्र अनलाइन
काठमाडौँ, भदौ ३ गते । भारतको अन्तर्राष्ट्रिय एकदिवसीय टोलिका उपकप्तानसमेत रहनुभएका ब्याट्सम्यान रोहित शर्मालाई खेल रत्न पुरस्कारका लागि सिफारिस गरिएको छ । उक्त पुरस्कार खेलकुद गतिविधिमा लागेका खेलाडीलाई प्रदान गरिने सबैभन्दा प्रतिष्ठित पुरस्कार हो ।
भारतको खेलकुद मन्त्रालयले शर्मालाई राजीव गान्धी खेल रत्न पुरस्कारका लागि सिफारिस गरेको हो । तीव्र गतिका बलर इशान्त शर्मा र महिला क्रिकेट टोलीका अलराउण्डर दिप्ती शर्मालाई अर्जुन पुरस्कारका लागि मन्त्रालयले सिफारिस गरेको छ ।
शर्मालाई भारतीय क्रिकेट कन्ट्रोल बोर्ड(बीसीसीआई)ले गत मे महिनामै उक्त पुरस्कारको लागि नाम छनोट गरी पुरस्कार छनोट समितिमा पठाएको थियो । समितिमा वीरेन्द्र सहवाग र हकी टोलीका कप्तानसमेत रहनुभएका सरदार सिंह हुनुहुन्छ ।
शर्माले सन् २०१९ मा पाँच टेष्ट खेलमा ९२.६६ को औसतले ५५६ रन बनाउनुभएको छ । उहाँले सन् २०१९ मै अन्तर्राष्ट्रिय एकदिवसीयमा ५७.३० को औसतले एक हजार ४९० रन बनाउनुभएको छ । विश्वकप क्रिकेटको एउटै संस्करणमा उहाँले पाँच शतक लगाएर नयाँ कीर्तिमानसमेत बनाउनुभयो ।
कुस्ती खेलाडी विनेश फोगत, प्याडलर मनिका बात्रा, महिला हकी टोलिकी कप्तान रानी रामपाल र सन् २०१६ मा रियो पाराओलम्पिकका स्वर्ण पद विजेता ‘हाइ जम्पर’ मरियप्पन थाङगाभेलु गरी पाँच जनालाई खेल रत्न पुरस्कारका लागि सिफारिस गरिएका छन् ।
यसअघि क्रिकेटर सचिन तेन्दुलकर, महिन्दर सिंह धोनी र विराट कोहली उक्त पुरस्कारका लागि सिफारिस भएका थिए ।